जाजरकोट – अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ । जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन् ।


ADVERTISEMENT


ठेक्का सम्झौता भएको छ महिनाभित्र निर्माण पूरा गर्ने भनिए पनि दुई वर्ष पूरा हुँदासम्म काम नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा हैरान भएको बताउँदै आएको छ । काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको कार्यालयले जनाएको छ । सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ । जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पुर्याउने लक्ष्य निर्माण व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ ।


ADVERTISEMENT

# # #


पश्चिम जाजरकोटको शिवालय र जुनिचाँदे गाउँपालिकामा विद्युत् पुर्याउने उद्देश्यले आव २०७५/७६ मा खोलिएको ठेक्काको काम निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ । मनघाटबाट सुवानाउलीसम्म पोल र तार तान्ने कामको ठेक्का उनले लिएका थिए । ठेक्का पाएको छ महिनाभित्र काम पूरा गर्ने भनिए पनि दुई वर्षसम्म आधा काम पनि भएको छैन । विद्युत् प्राधिकरणले धरौटी जफतका लागि बैंकलाई पत्र लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताए ।

बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिम जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ । सामग्री लिएको तीन महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताए । लामिछानेले भने, “काम गर्छु भन्नुहुन्छ तर गर्नुहुन्न, छेडागाड नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ तर त्यसभन्दा माथि काम नगरेर बीचमै अलपत्र परेको अवस्था छ ।”

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम शाहले (शाहीबाबा कन्स्ट्रक्शन) लिएको ठेक्काको काम पूरा नगर्दा पूर्वी जाजरकोटका बारेकोट र कुशे गाउँपालिकामा बिजुली बाल्न नसकिएको हो । उनले कुशेको पाँचकाटियाबाट कुशेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीबाट बारेकोट जाने लाइन निर्माणको ठेक्का लिएको थिए । आव २०७५/७६ मा लिएको उक्त ठेक्का सम्झौतामा छ महिनाभित्र काम पूरा गर्ने भनिएको थियो । काम गर्ने भन्दै ८०० भन्दा बढी पोलसमेत बुझिसकेका शाहले काम बीचमै छाड्दा सबै लथालिङ्ग भएको प्राधिकरणले जानकारी दिएको छ ।

शाहले लिएका पोल नलगाड नगरपालिकाको रघुनाथलगायतका ठाउँमा सडकको माटो मुनि, खोल्सा मुनि र पहिराले पुरिएको अवस्थामा रहेका छन् । पटक–पटक कामका लागि ताकेता गर्दा पनि अटेर गरेर बसेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए । पूर्वी क्षेत्रको अनुगमनमा जाँदा लथालिङ्ग अवस्थामा रहेका पोल देखाउँदै सदस्य सिंहले भने, “लाजलाई पनि लाज लागिसक्यो तर हाम्रा जनप्रतिनिधिले लिएको ठेक्कासमेत पूरा गर्नुहुन्न । काम नगर्नेले किन भए/नभएको ठेक्का लिनु ? यसरी कहाँ विकास निर्माणका काम गर्न सकिन्छ । यो त सरासर हामीलाई असफल गराउने काम भयो ।” शाहले लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प भएको छ । यो काम समयमा भएको भए अहिलेसम्म विद्युत् गाउँगाउँमा पुगी झिलीमिली भइसक्ने जाजरकोट वितरण केन्द्रले बताएको छ । सामग्री दिएर पनि काम नगर्दा निर्माण व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ ।

त्यस्तै प्रदेशले गरेको ठेक्काको कामसमेत प्रभावकारी नभएको पाइएको छ । त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम कतै नभएको प्राधिकरणले जनाएको छ । मटेलाबाट भेर्याए जोड्ने लाइन काफलचौरसम्म लिएर अगाडिको काम लथालिङ्ग बनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डको कालेगाउँ–रिम्नासम्म जोड्ने लाइन विस्तारको काम अलपत्र भएको छ । कालेगाउँबाट बहुनथाना पाँचकाटिया जोड्ने कामसमेत बीचमै छाडिएको छ । यो पनि आव २०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ । निर्माण व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ । रासस