काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्माओली सुध्रिन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष ओली कम्युनिस्ट चरित्र देखाउन नसकेको आरोप लगाए । ओलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर बाटो बिराएकाहरुलाई ‘आममाफी’ दिएको अभिव्यक्ति दिएका थिए ।


ADVERTISEMENT

# # #


‘हिजो महामहिम श्री ५ महाराजधीराजबाट अभिव्यक्ति आयो-माधव नेपाल लगायतका माननीयमाथि जति पनि गरिएको छ, स्पष्टीकरण, त्यसलाई आममाफी दिइन्छ । कति हामी गद्गद् भयौँ ।’ ओलीको भनाईप्रति टिप्पणी गर्दै नेता नेपालले भने, ‘महाराजधीराज उवाच, हामी गद्गद भयौँ । यही हो प्रवृत्ति ? यसैलाई कम्युनिस्ट प्रवित्ति भनिन्छ ?’

नेता नेपालले ओलीले आम माफी दिएको छु भन्नु भन्दा स्पष्टीकरण सोधेकोमा मबाट गल्ती भयो, त्यसकारण फिर्ता लिएको छु भनेको भए उचाईं घट्थ्यो, मर्यादा कम हुन्थ्यो भन्दै प्रश्न गरे । उनले आफूले ओली सुध्रिएलान् भन्ने ठाने पनि जस्ताको त्यस्तै रहेको बताउँदै भने, ‘तराईतिरको उखान छ एउटा– डोरी जल्यो तर त्यसमा भएको गाँठो जस्ताको त्यस्तै । यस्तो पनि हुन्छ ?’

उनले ओलीले आफूलाई तर्साउन युवाहरु परिचालन गरेको समेत जिकिर गरे । उनले भने, ‘माधव नेपालको घरको छेउ, रिंगरोडमा पुग्दाखेरि मारमुंग्रेहरु २५ जनाको संख्यामा राती १० बजे पुगेका थिए । त्यो त्यो ठाउँमा झर्दा खेरी । यसो हेरेको त बाफ्रे–बाफ उपरखुट्टी लगाएर मोटरसाइकलमा बसेका जम्मै माधव नेपाललाई तर्साउन । तर्सिने मान्छे हो ? कस्ताकस्ता त कहाँ गए, यिनीहरु आएर माधव नेपाललाई तर्साउने ।’

स्टालिनले भनेजस्तै आफूहरु विशेष धातुले बनेका मान्छे भएको भन्दै उनले कसैले तर्साउँदैमा नतर्सिने बताए । आफूहरु सिंगो कम्युनिस्ट पार्टीलाई नै एकतावद्ध बनाउन चाहेने र त्यति नभए सहकार्य गरेर जाने पक्षमा रहेको बताए ।