काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । च्याम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको चेम्बरका पदाधिकारीहरु तथा सदस्यले शुक्रबार मन्त्री शर्मासँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा अध्यक्ष राजेन्द्र मल्लले गणतन्त्र नेपालको अर्थ मन्त्री पदमा नियुक्त भएकोमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरे । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप निजी क्षेत्रका व्यवसायी, कर्मचारी, मजदुररुलाई उपलब्ध गराउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने माग राखे । यस्तै उनले आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने उल्लेख गरे ।

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिनुपर्ने च्याम्बरको सुझाव छ ।

जवाफमा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाइ उकास्न औद्योगिकरणको माध्यमबाट मात्र संभव भएको बताउँदै आन्तरिक उत्पादन वृद्धि गर्न र आन्तरिक लगानी वृद्धि गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए । यस सन्दर्भमा सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताए । नेपाल चेम्वर अफ कमर्सको प्राप्त सुझावका लागि धन्यवाद ज्ञापन गरे ।

उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्बरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको तथा राजश्व समितिका सभापति पर्शुराम दाहालको पनि उपस्थिति रहेको थियो ।