जेनेभा/न्यूयोर्क– विश्व स्वास्थ्य संगठन तथा युनिसेफले कोभिड–१९ महामारीका कारण अन्य अत्यावश्यक बाल खोपहरु समेत छायाँमा परेको जनाएका छन् ।


ADVERTISEMENT


यी दुई ठुला स्वास्थ्य संगठनद्वारा आज सार्वजनिक गरिएको बाल्यकालिन खोपसम्बन्धी तथा कोभिड–१९ को कारणबाट विश्वभरी अवरुद्ध भएका सेवाहरुबारे अवगत गराउने पहिलो आधिकारिक तथ्याङ्कले तुलनात्मक रुपमा गतवर्ष भन्दा यस वर्ष ठुलो स्केलमा बालखोपहरु छायाँमा परेको जनाएको हो ।


ADVERTISEMENT

# # #


कोभिड–१९ महामारीका कारण बालबालिकालाई दिइने भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, दादुरा र पोलियोलगायतका खोपहरु ओझेलमा परेको यी संस्थाहरुको तथ्यांकले स्पष्ट पारेको छ । जसमध्ये प्रायजसोः मध्यम आय रहेका देश रहेका छन् । तथ्यांकका अनुसार, सन् २०२० मा २ करोड ३० लाख बालबालिकाहरूले नियमित स्वास्थ्य सेवा अन्र्तगत पाउने आधारभूत खोपहरु लिनबाट बन्चित भएका छन् । र, यो संख्या सन् २०१९ को भन्दा ३७ लाखले बढी रहेको छ ।

अझ, ती बालबालिकामध्ये पनि १ करोड ७० लाख जति बालबालिकाले गत वर्ष एउटा पनि खोप नपाएको हुनसक्ने र, खोपको पहुँचमा भएको असमानताको वृद्वि थप चिन्ताजनक रहेको सो स्वास्थ्य संगठनहरुको भनाई छ ।

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि देशहरुले दृढरुपमा आवाज उठाईरहेको बेला अन्य खोपहरूमा भने पछाडी परिरहेको जनाउँदै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अद्हानोम घेब्रेयससले भने, ‘यसले गर्दा बालबालिकाहरू घातक तर खोपबाट बचाउन सकिने रोगहरू जस्तै दादुरा, पोलियो र मेनिन्जाइटिस जस्ता रोगहरूको जोखिममा परेका छन् ।’

यसै कारणबाट अनेक रोगहरूको महामारी भएमा, कोभिड–१९ विरुद्ध लडिरहेको समुदाय र समग्र स्वास्थ्य प्रणालीको लागि यो विनाशकारी हुने उनको अनुमान छ । तसर्थ यसका लागि तत्काल, बाल्यावस्थामा दिइने खोपहरुमा लगानी गरेर प्रत्येक बालबालिकामा खोपको सुनिश्चितता गर्नु अहिलेको अत्यावश्यक पक्ष रहेको उनले जनाए ।

सन् २०२० मा सबै क्षेत्रहरूमा खोपको पहिलो मात्रा लगाउन छुटेका बालबालिकाहरुको संख्या बढ्दै गएको छ भने दशौँ लाख बढी बालबालिकाहरुले पछिल्लो खोपको मात्रा लिन छुटेका छन् । यस विषयका बोल्दै युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोर भन्छन्, ‘यो तथ्य हाम्रो लागी स्पष्ट चेतावनी हुनुपर्दछ – कोभिड–१९ को महामारी र सम्बन्धित अवरोधहरुले हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु गुमाउने अवस्थामा पुर्‍याउन सक्छ र गुमायौँ भने यसको मुल्य सबैभन्दा बढी जोखिममा रहेकाहरुले आफनो जीवन र स्वास्थ्यबाट चुकाउनु पर्ने अवस्था हुन्छ ।’

कोभिड–१९ को महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने बाल्यकालिन अवस्थामा हुने रोगहरूबाट बचाउन पर्याप्त ध्यान दिन नसकेको चिन्ताजनक संकेत पाइएको जनाउँदै उनले अहिलेको कोभिड–१९ को महामारीले यो अवस्थालाई झनै जटिल बनाएकाप्रति चिन्ता समेत व्यक्त गरेका छन् । ‘कोभिड–१९ विरुद्धको खोपको समतामूलक वितरण हुनुपर्छ भनिए पनि खोपको वितरणमा सधैँ विभेद हुने गरेको छ भन्ने बारेमा हामीले हेक्का राख्नुपर्छ र त्यस्तो विभेद हुन दिनु हुँदैन’, उनले भने ।

यस्तै, यस किसिमको भयानक स्थिति न्युनिकरणका लागि एकजुट भएर अघि बढ्नुपर्नेगाभी, द भ्याक्सिन अलायन्सका प्रमुख कार्यकारी अधिकृत डा. सेथ बर्क्को भनाई छ । यसका लागि युनिसेफ, विश्व स्वास्थ्य संगठन र गाभी द भ्याक्सिन अलयान्सजस्ता साझेदार हरुले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल थालिरहेका छन् ।