सञ्चिता घिमिरे, काठमाडौँ– चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल ९धोबीखोलासम्म० को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन ।


ADVERTISEMENT


सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि सडक खाली भइनसकेका कारणले निर्माण शुरु गर्न ढिलाइ भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको हो ।


ADVERTISEMENT

# # #


सामाखुशीदेखि महाराजगञ्जसम्मका विद्युत्का खम्बा सार्ने काम भइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए । विद्युतका खम्बा एक सातामा हटाउने गरी सम्झौता भए पनि पानीले गर्दा हटाउन नसकिएको उनले जानकारी दिए । उनी भन्छन्, ‘पानी परिरहँदा तार हटाउन पनि गाह्रो छ र विद्युतभार कटौती गर्ने अवस्था छैन ।’

सो सडकमा विभिन्न खण्डमा स्तूपा, मन्दिर, घरलगायतका संरचना अझै हटाउन बाँकी रहेको योजनाले जनाएको छ । स्वयम्भु नजिकै रहेको स्तूपाको पर्खाल सार्न बाँकी रहेको प्रमुख सुवालले बताए । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर क्षेत्रमा घर हटाउन बाँकी छ । त्यो घर हटाउन नसकिँदा पनि कसरी निर्माण अघि बढाउन सकिन्छ भनेर छलफल भइरहेको उनको भनाई छ ।

‘सडकमा रहेका संरचना हटाइसकिएपछि तत्काल चिनियाँ टोली आएर काम शुरु गर्नेछ’, उनले भने । चक्रपथको सडक मात्रैको चौडाइ ५० मिटर हुने भए पनि हरियाली क्षेत्र, फुटपाथ, सर्भिस ट्र्याकसमेत गरी ६२ मिटर चौडाइ हुने प्रमुख सुवालले जनाए ।

अहिले तत्काल चिनियाँ आउनका लागि विद्युत खम्बाले गर्दा मात्र रोकिएको बताउँदै उनले केही समय पहिले सडक विभागले निर्माणस्थल खाली भइसकेको भनेर चिनियाँ कम्पनीलाई जानकारी गराएको र, चिनियाँ आफैँले फोटो खिचेर लगेर निर्माणस्थल खाली नभएको भनी काम शुरु नगरेको बताए । उनका अनुसार, सडकमा रहेका साना मन्दिर कसरी अर्को ठाउँमा सार्ने? भन्ने विषयमा पुरातत्वसँग आवश्यक छलफल भइरहेको छ ।

सडक विभागले चीन सरकारको सहयोगमा कलङ्कीदेखि महाराजगञ्ज हुँदै चाबहिल (धोबीखोलासम्मको सडक) विस्तार गर्ने तयारी अघि बढाइरहेको छ । दुई वर्ष पहिले सडकको अधिकार क्षेत्रमा रहेका विद्युतका खम्बा, खानेपानीको पाइप, ढल, रुख, मन्दिर, स्तूपा, व्यक्तिगत सम्पत्ति सार्ने र हटाउने काम भइरहेको छ । अहिलेसम्म त्यहाँ रहेका रुख, खानेपानी तथा ढल हटाइसकेको छ । अझै पनि यहाँका विद्युतका पोल, स्तूपाका पर्खाललगायतका कुरा हटाउन बाँकी छ । कतिपय व्यक्तिको व्यक्तिगत सम्पत्ति हटाउन पनि बाँकी छ ।

चक्रपथको पहिलो खण्डका रुपमा चीन सरकारले कोटेश्वर–कलङ्की सडक विस्तार गरेको थियो । सो सडक सम्पन्न भएको झण्डै पाँच वर्ष भइसकेको छ । आठ लेन चौडाइमा विस्तार गरिएको सडकका कारण यस क्षेत्रमा सवारी चाप कम भएको छ । सोही सडकमा खसीबजारदेखि कलङ्कीसम्म ‘अण्डर पास’ निर्माण गरिएको छ । कलङ्कीदेखि चाबहिलसम्मको सडक पनि आठ लेनमा नै विस्तार हुनेछ । सो सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्ने गरी डिजाइन गरिएको छ । रासस