दमौली– हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो ।


ADVERTISEMENT


देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उनले जनाए ।


ADVERTISEMENT

# # #


समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताए । ‘कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ’। उनी भन्छन्, ‘भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।’ घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

साथै शान्तिसुरक्षाका लागि तीन वटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उनले बताए । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको सङ्ख्या उल्लेख्य रह्यो । ‘अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ’, उनले भने ।

देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् । हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गर्थ्यो । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ ।

मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ । रासस