रिपेश दाहाल, बाग्मती – नुवाकोटको त्रिशूली अस्पतालमा ६९ वर्षीय एक पुरुष मुटु दुखेर उपचारका लागि आए। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले उनको मुटुको परीक्षण गरे । उनलाई हृदयाघात भएको थियो । चिकित्सकले उनलाई रगत पातलो गराउने तथा नसाको अवरोध हटाउने औषधि चलाए र थप उपचारका लागि गङ्गालाल राष्ट्रिय हृदय केन्द पठाए ।


ADVERTISEMENT


हृदय केन्द्रमा उनको सफल शल्यक्रियामार्फत उपचार भयो र उनी स्वास्थ्य लाभ गरेर घर फर्किए । धादिङको कुमाल गाउँपालिका–८ निवासी ७० वर्षीया एक महिला बेस्सरी छाती दुखेर धादिङ अस्पताल पुगिन् । अस्पताल पुगेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले उनको मुटुको परीक्षण (इसिजी) गरेर हेर्दा उनलाई हृदयाघातअर्थात् मुटुको धमनीमा अवरोध भएको पत्ता लाग्यो ।


ADVERTISEMENT

# # #


हृदयाघात भएको यकिन गरिसकेपछि चिकित्सकले उनलाई मुटुको धमनीमा जमेको रगत फुटाउने तथा पातलो गराउने औषधि ‘टेनेक्टोप्लेस’ को सुई लगाई थप उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ पठाए । केन्द्रमा उनको अवरुद्ध धमनीको सफल शल्यक्रिया गरि उनलाई मृत्युको मुखबाट जोगाइयो ।

धादिङकै ज्वालामुखी गाउँपालिका–३ निवासी ४० वर्षीय पुरुष छाती दुखेर र मुटुको धड्कन एक्कासि बढेर धादिङ अस्पताल आए। उनको मुटुको परीक्षण गरेर हेर्दा मुटुको गति असामान्य रुपमा बढेको देखियो । यस्तो अवस्थाका अधिकांश बिरामीको मृत्यु हुने गर्दछ । उनको पनि उपचार समयमा नगरे ज्यानै जान सक्ने सम्भावना बढी थियो । यस्तो उच्च गतिमा मुटु धड्किँदा, मुटु नै दौडिरहेको जस्तो लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, टाउको हलुको भएकोजस्तो लाग्ने, एक्कासि मुटु बन्द पनि हुनसक्छ, बिरामी अचेत पनि हुन सक्छन् र समयमा उपचार नपाए बिरामीको मृत्यु पनि हुनसक्छ । यस्तो जटिल अवस्थाका बिरामीको समयमा पहिचान गरी सही उपचार गरी मुटुको धड्कन सामान्य अवस्थामा ल्याउन फेरि धादिङ अस्पताल सफल भयो । अस्पतालले त्यसैगरी अवरोध हटाउने औषधि चलायो र बिरामीलाई थप उपचारका लागि गङ्गालाल हृदय केन्द्र पठायो ।

वाग्मती प्रदेश सरकार र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच हृदयाघातका कारण हुने मृत्युलाई रोक्न गरिएको उपचार सम्झौतापछि भएका घटनाक्रम हुन् यी । प्रदेश सरकारले हृदयाघातका कारण नागरिकको अकालमा ज्यान नजाओस् भन्नका लागि हृदय केन्द्रसँग यस्तो सम्झौता गरेको हो । निर्वाचनमा गरिएको वाचाअनुरुपनै मुटुरोग, क्यान्सर तथा मिर्गौलासम्बन्धी समस्याको उपचारमा सरकार लागि परेको र त्यसकै योजनाअनुसार हृदयाघातको निःशुल्क उपचार प्रारम्भ गरिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

पौडेलले प्रदेश मातहतका सबै अस्पतालका चिकित्सकलाई प्रदेश सरकारले गङ्गालाल हृदय केन्द्रमार्फत हृदयाघात पहिचान तथा उपयुक्त उपचार प्राप्त नहुञ्जेलसम्म १२ घण्टासम्म जीवित राख्न हृदयाघातको प्राथमिक उपचारसम्बन्धी तालीम दिइएको जानकारी दिए “हामीले प्रदेशका सबै अस्पतालले उपलब्ध गराउने औषधि तथा हृदय केन्द्रमा पुगेपछि गरिने उपचारसमेत निःशुल्क गर्ने व्यवस्था मिलाएका छौँ”, मुख्यमन्त्री पौडेलले भने।

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार प्रदेश सरकारसँग सम्झौता भई उपचार प्रारम्भ गरिएको हृदयाघातसम्बन्धी सेवाले धेरैको अकालमा ज्यान जानबाट जोगाउन सकिन्छ । उनले अस्पतालका स्वास्थ्यकर्मीलाई हृदयाघातका बारेमा तालीम उपलब्ध गराइएको र हृदयाघात भएका बिरामी अस्पताल आए उनीहरुले १० देखि १२ घण्टासम्म जीवित राख्न सक्ने औषधि चलाउने तथा त्यो अवधिमा हृदय केन्द्र पुर्याएर बिरामीको थप उपचार गर्न सकिने बताए ।

डा अधिकारीले यसअघि अन्य अस्पतालमा त्यो खालको सेवा नहुँदा बेलैमा मुटुसम्बन्धी उपचार गर्ने राम्रो अस्पतालमा पुर्याउन नसक्दा धेरैको अकालमा ज्यान गएको उदाहरण रहेको सुनाए । “हाम्रोजस्तो भौगोलिक अवस्था भएको तथा मुटुरोगसम्बन्धी उपचार गर्ने जनशक्ति सीमित भएको देशमा सबैतिर मुटुसम्बन्धी सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न नसकिने हुँदा यो विधि राम्रो र सफल छ”, उनले भने । धेरै धनी तथा विकसित देशमा समेत यस्तो प्रक्रियामार्फत हृदयाघातको उपचार गरिने उनले बताए ।

प्रदेश सरकारले हृदयाघातका कारण अवरोध भएको धमनी खुलाउन प्रयोग हुने औषधि निःशुल्क वितरण गर्ने गरेको छ । मुटुको धमनीमा जमेको रगत फुटाल्ने उक्त औषधि धेरै महँगो रहेको जानकार बताउँछन् । हृदयाघातका कारण हुने मृत्युलाई घटाउनअघि सारिएको यो कार्यक्रममा मुख्य गरी शहीद गङ्गालाल हृदय केन्द्र तथा त्यहाँका विशेषज्ञ चिकित्सकको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश मातहतका चिकित्सक पनि लागि परेका छन् ।

प्रदेश सरकारले यसबाहेक मिर्गौला रोगीको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल तथा चितवनको बकुलर अस्पताल रत्ननगरबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिरहेको छ भने दोलखाको चरिकोट अस्पतालमा सञ्चालनको क्रममा रहेको छ । त्यस्तै नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, धादिङको धादिङ अस्पताल र रामेछापको जिल्ला अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्नका लागि रकम विनियोजन गरिसकेको छ ।

सरकारले प्रदेशका अर्बद रोग पीडित नागरिकका लागि प्रतिबिरामी रु ५० हजार थप उपचार खर्च बेहोर्दै आएको छ । प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत रहेर नसर्ने प्रकृतिका दीर्घ तथा असहाय रोगको उपचारमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रासस