धुलिखेल– काभ्रेको पनौतीस्थित तेजगङ्गा बहुमुखी क्याम्पसले आफ्नो क्याम्पस भवनमाथि विद्युत्को मुख्य प्रशारण लाइनमा परेर मृत्यू भएका छात्रको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।


ADVERTISEMENT


क्याम्पस प्रशासनसँग रु १५ लाख क्षतिपूर्ति दिने सहमति भएपछि मङ्गलबार मृतकका परिवारले शिक्षण अस्पतालमा रहेको शव बुझेका छन् । पनौतीको मल्पिस्थित भालेश्वर माविमा कक्षा– ९ मा अध्ययनरत छात्र सन्तोष थापाको शनिबार मृत्यु भएको विषयलाई लिएर तेजगङ्गा बहुमुखी क्याम्पसले गल्ती स्वीकारेका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो गल्ती भएको स्वीकार्दै क्याम्पस प्रमुख डा अम्बुभवानी कार्कीले मृतकलाई रु १५ लाख नगद क्षतिपूर्ति दिन मञ्जुर गरेकी हुन् ।

क्याम्पसको छतमाथि तानेको मुख्य प्रशारण लाइनतारमा अल्झेर विद्यार्थी थापाको मृत्यु भएको थियो । त्यसका लागि मृतककी आमाको नाममा रु। १५ लाख क्षतिपूर्तिस्वरुप दिने निर्णय गरेको छु’– कार्कीले भन्नुभयो । उहाँले क्याम्पस भवनको नक्सापासको बारेमा नगरपालिकासँग बारम्बार भन्दा पनि त्यो प्रक्रिया पूरा हुन नसकेको बताउनुभयो ।

‘हामीले नगरपालिकाबाट नै रु १० लाख अनुदान प्राप्त गरेर भवन निर्माण गरेका हौँ ।’ भवनको नक्सापास सम्बन्धमा पनि कुरा भइरहेको र छिट्टै टुङ्गिने बताउनुभयो । उहाँले विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि प्राधिकरणले वास्ता नगरेका कारण मृत्युको कारक बन्न गएको समेत बताउनुभयो ।

त्यसको दोषी क्याम्पस होइन, विद्युत् प्राधिकरण हो, कार्कीले भन्नुभयो, “मैले बारम्बार भन्दा पनि प्राधिकरणले चाँसो नै दिएन, जसको कारण अहिले यस्तो अवस्था व्यहोर्नुपरेको हो ।”

सो विषयमा क्याम्पसले क्षतिपूर्ति र केही माग पूरा गर्ने भएपछि पीडित परिवार शव जिम्मा लिन सहमति भएको भालेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरण, पनौती नगरपालिकाका र क्याम्पसका प्रमुख तथा भालेश्वर माविका अध्यक्ष र पीडित परिवारबीच मङ्गलबार सहमति भएको थियो ।

तेजगङ्गा क्याम्पसले रु १५ लाख रकम क्षतिपूर्ति दिने, मृतकका परिवारका सदस्यलाई उच्च शिक्षा निःशुल्क प्रदान गर्ने, तेजगङ्गा क्याम्पस र नेपाल विद्युत् प्राधिकरणले मृतकका परिवारलाई रोजगारी प्रदान गर्ने तथा विद्युत्लाई व्यवस्थापन गर्नेलगायतका सहमति भएको जनाएको छ ।

पनौति– ८, निवासी छात्र थापा कपलकोट पिक्नीक स्पोटमा साथीसँग फूटबल खेल्दा बल तेजगङ्गा कलेजको नवनिर्मित भवनको छतमा खसेको थियो । छतमा बल लिँन जाँदा थापाको करेन्ट लागेर शनिबार मृत्यु भएको थियो । क्याम्पसको छतमा रहेको रडमा बिजुलीको तार छोएको र एक्कासि रड समात्न गई थापाको मृत्यु भएको जनाएको छ ।