काठमाडौँ भारतसँगको रेलवे सेवा सम्झौता संशोधन भएको छ । नेपालले आफ्नै रेल प्रयोग गरि भारतको कोलकातासम्म सिधै वस्तु ढुवानी गर्न सक्ने भएको छ । यसले नेपालको पारवहन लागत घटाउनुको साथै औद्योगिक उन्नयनमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।


ADVERTISEMENT


निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन उद्योग वाणिज्य महासंघले उक्त संशोधनको स्वागत गरेको छ । महासंघले शनिबार विज्ञप्तिमार्फत लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकामा स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ । पछिल्लो सम्झौताअनुसार नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगञ्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेल सेवा दिन सक्नेछन्


ADVERTISEMENT

# # #


शुक्रवार भएको लेटर अफ एक्सचेन्ज (एलओई) दुवै देशका अधिकारीहरूबीच आदानप्रदान भएसँगै नेपालले यस्तो सुविधा पाउने भएको हो । पारवहन कार्गो ढुवानीमा कन्टेनर कर्पोरेशन अफ इन्डियाको एकाधिकार तोडिएसँगै प्रतिस्पर्धा हुने भएकाले कार्गो ढुवानीको लागत घट्ने अपेक्षा गरिएको छ । महासंघले सम्झौता अक्षरस पालना गर्न अनुरोध गर्दै यसले नेपालको अन्तरराष्ट्रिय व्यापारमा ठूलो परिवर्तन आउने अपेक्षा गरेको छ ।

सम्झौतापछि अब नेपालको आफ्नै स्वामित्वमा रहेको रेलमार्फत वीरगञ्ज र विराटनगरदेखि कोलकाता हल्दियासम्मको सेवा दिन सक्नेछ । अहिलेको सम्झौताले नेपालले पनि रेलसेवा तथा वागन राख्न र भारतमा पनि चलाउन पाउने भएकाले त्यसमा हुने लगानी पनि नेपालमै आउने भएकाले फाइदा देखिन्छ भने नेपालको पारवहन लागत घटाउने विषयमा यो सम्झौता एक कदम अघि बढेको देखिन्छ ।