दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका हुन् ।


ADVERTISEMENT


श्रेष्ठका अनुसार, आज बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो । ‘श्रृङ्गपथ तलबाट पहिरो खसेको छ’, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध

पहिरो हटाएर सञ्चालनमा आएको डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुर सडकखण्ड अवरुद्ध भएको जानकारी दिए । गत मङ्गलबार पहिराले अवरुद्ध भएको उक्त सडकखण्ड चार दिनपछि आंशिक सञ्चालनमा आएको थियो । डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर जाने सडक शनिबारदेखि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो ।

पृथ्वीराजमार्गको डुम्रेदेखि सात किमीको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरा झरेर अवरुद्ध भएको छ । पहिरोले बन्दीपुरका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पुर्‍याएको छ । रासस