दार्चुला– आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदानका लागि जिल्लाभरी ११० मतदानस्थल र १२९ मतदान केन्द्र कायम गरिएको छ ।


ADVERTISEMENT


जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो पटक मालिकार्जुन मावि आगरमा एउटा मतदान केन्द्र थपिएसँगै मतदान केन्द्रको संख्या १२९ पुगेको हो । एकहजार ६४ भन्दा बढी मतदाता भएको स्थलमा दुईवटा मतदान केन्द्र कायम हुने मापदण्डअनुसार मतदान केन्द्र थप भएको हो ।


ADVERTISEMENT

# # #


कायम गरिएका मतदान केन्द्र अधिकांश विद्यालय भवनमा रहेका छन् । महाकाली नगरपालिकाका दुईवटा मतदानस्थल बाहेक सबै मतदानस्थल विद्यालयमा कायम गरिएका जिल्ला निर्वाचन अधिकारी तुलसीराम पाण्डेले जानकारी दिए ।

महाकाली नगरपालिका– ३ को स्वास्थ्य चौकी भवन बाँझ र वडा नं ५ स्थित अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय बाहेकका सबै केन्द्र विद्यालयमा कायम गरिएको छ । जिल्लामा सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १७ वटा मतदान स्थलमा २२ वटा मतदान केन्द्र रहेका छन् ।

शैल्य शिखरमा ६ हजार ३९१ पुरुष र ६ हजार ४९६ महिला गरी कुल १२ हजार ८८७ मतदाता रहेका छन् । यस्तै सबैभन्दा कम अपी हिमाल गाउँपालिकामा ८ मात्रै मतदान केन्द्र कायम गरिएका छन् । अपी हिमालमा दुई हजार १३९ पुरुष र दुई हजार २३ महिला गरी कुल चार हजार १६२ मतदाता रहेका छन् ।

यसैगरी, दुहु गाउँपालिकामा पाँच मतदानस्थल तथा नौवटा मतदान केन्द्र रहेका छन् । दुहुमा तीन हजार ५४० पुरुष र तीन हजार ४९८ महिला गरी कुल सात हजार ३८ मतदाता रहेका छन् । ब्यास गाउँपालिकामा ११ वटा मतदानस्थलमा १३ वटा मतदान केन्द्र रहेका छन् । यहाँ तीन हजार ५३१ पुरुष र तीन हजार ४०१ महिला गरी कुल ६ हजार ९३२ मतदाता रहेका छन् ।

महाकाली नगरपालिकामा पाँचहजार ९५० पुुरुष र पाँच हजार ९८८ महिला गरी कुल ११ हजार ९३८ मतदाता रहेका छन् । यहाँ १५ मतदानस्थलमा १८ मतदान केन्द्र कायम गरिएका छन् । मालिकार्जुन गाउँपालिकामा १५ मतदानस्थलमा १८ मतदान केन्द्र रहेका छन् । यहाँ पाँच हजार १६९ पुरुष र पाँच हजार ७० महिला गरी १० हजार २३९ मतदाता रहेका छन् ।

यस्तै, लेकम गाउँपालिकामा १३ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र कायम गरिएका छन् । लेकममा चार हजार ३९१ पुरुष र चार हजार ४४३ महिला गरी कुल मतदाता संख्या आठ हजार ८३४ रहेको छ । नौगाड गाउँपालिकामा १२ वटा मतदानस्थल तथा १३ वटा मतदान केन्द्र रहेका छन् । चार हजार ३२९ पुरुष र तीन हजार ९२९ महिला गरी कुल आठ हजार २५८ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै चार हजार १४५ पुरुष र चार हजार ७९ महिला गरी कुल आठ हजार २२४ मतदाता रहेको मार्मा गाउँपालिकामा १४ वटा मतदानस्थल तथा १५ वटा मतदान केन्द्र कायम गरिएका छन् । एक हजार ६४ भन्दा बढी मतदाता भएको स्थलमा दुईवटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी पाण्डेले बताए।