काठमाडौँ– जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ ।


ADVERTISEMENT


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाका सहयोगमा रु नौ करोड लागतमा बन्ने अनुसन्धान केन्द्रको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता बिपीबारे अनुसन्धान गर्ने स्थान निर्माणपछि अनुसन्धानका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘बिपीबारे अनुसन्धान गर्ने केन्द्र गिरिजाबाबु, सुशील कोइराला र आफू प्रधानमन्त्री हुँदा बनाउन चाहे पनि विभिन्न समस्याले गर्दा बनाउन सकिएन ।’

उनले बिपीजस्तो महान् राष्ट्रवादी राजनीतिज्ञको योगदानको कदर गर्दै केन्द्र स्थापनामा ट्रष्टले गरेको अगुवाइको मूल्याङ्कन समेत गरेका छन् । पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले भने बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व भएको जनाए । ‘भर्खरै निर्माण हुन लागेको केन्द्र देशभित्र व्यक्ति मात्र नभएर विदेशी व्यक्तिका लागि पनि अध्ययन केन्द्र बन्नेछ’, उनले भने ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बिपी जस्तो आदर्शपुरुषबारे अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र आफू प्रमुख हुँदा बनाउन पाएकामा गौरवान्वित भएको बभाव प्रस्तुत गरे । निर्माण हुन लागेको रिसर्च सेन्टरलाई महानगरपालिकाले आफ्नो महत्वपूर्णमध्येको एक कार्य रहेको बताउँदै आगामी दिनमा पनि महानगरपालिकाले यस्ता कार्यलाई सहयोग गर्ने उनको भनाई छ ।

यस्तै, ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले भने केन्द्र स्थापनासँगै विद्यार्थीलाई बिपीको राजनीतिक, साहित्यिक पक्षबारे खोज,अनुसन्धान तथा विद्यावारिधिमा सहयोग पुग्ने उल्लेख गरे। बिपी नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त केन्द्रको स्थापनाका लागि चालु आवमा संस्कृति मन्त्रालयले रु ५० लाख र कामपाले रु दुई करोड बजेट विनियोजन गरेको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिएका छन् । नयाँ बन्ने साततले भवनको निर्माणको सम्पूर्ण जिम्मेवारी कामपाले लिएको छ । रासस