काठमाडौँ – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ८ जनालाई काठमाडौँबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ बाहिर जाने यात्रुहरुबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गर्ने ६ जनालाई नयाँ वसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा दाङ घर भएका सन्तोष दमाई, कुशलराम बस्नेत, गिम बहादुर गाहा मगर, रूपन्देहीका दीपनारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका ३१ वर्षे युवराज ढकाल रहेका छन् । उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


एसएसपी भट्टराईका अनुसार काठमाडौँबाट बा१६च २१८४ नम्बरको प्राईभेट गाडीमा उदयपुसम्म लान भनी यात्रुसँग भाडा लिएको कसुरमा कोटेश्वरबाट उदयपुरका राकेश रसाईली पक्राउ परेका छन । रसाईलीले प्रति यात्रुसँग ३ हजार रूपैयाँका दरले भाडा लिएका थिए । यसैगरि चावहिलबाट सोलुखुम्बु जाने यात्रुहरुसँग प्रति व्यक्तिक्ति ५ हजारसम्म भाडा लिने झनक बहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ना१ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएपछि पक्राउ परेका हुन । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञा पश्चातको अवधिमा उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा आठ गुणाबढीसम्म भाडा लिई यात्रुलाई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले परिचालन गरेको विशेष टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउण्टरहरुमा निगरानी गर्ने, आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए ।

महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको एसएसपी भट्टराईल बताए ।