काठमाडौँ – काठमाडौँ उपत्यकामा दुई महीनापछि सार्वजनिक बस चल्न थालेका छन् । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत बैसाख १५ गतेयता सार्वजनिक यातायात बन्द थिए ।


ADVERTISEMENT


सोमवार बसेको काठमाडौँ उपत्यकाका तीन सिडिओको बैठकले आजदेखि सार्वजनिक बस पनि खोल्ने निर्णय गरिएको थियो । बैठकले उपत्यकामा जोर विजोरमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय गरेअनुसार यातायात सञ्चालनमा आएको हो ।
सबै सिटमा यात्रु राख्न पाउने गरी स्वास्थ्य मापदण्ड अपनाएर बस चलाउन दिने निर्णय गरेको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए । चालक, सहचालक र यात्रु सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने र दिनहुँ सवारीसाधन निःसंक्रमण गर्नुपर्ने प्रावधान राखिएको जानकारी पराजुलीले दिए ।


ADVERTISEMENT

# # #


हाललाई सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइ पुनः एक साता थपिएको हो । पछिल्लोपटक थपेको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएकाले मंगलवार बिहाना देखि नयाँ व्यवस्थाअनुसारका प्रावधान शुरु हुँदैछ । बैठकले उपत्यकाभित्र जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका बस सञ्चालन गर्न दिने निर्णय गरेकामा नाकामा भने कडाइ गर्ने निर्णय गरेको छ । ‘अत्यावश्यक ढुवानीका साधन, २ जना कुरुवासम्म बिरामी बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पास बोकेर आएका सवारीबाहेकलाई उपत्यका प्रवेशमा रोक लगाइनेछ,’ काठमाडौँका सीडीओ पराजुलीले बताए ।