काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेता तथा चीनको राष्ट्रिय रक्षामन्त्री चाङ वान क्वान नेपाल आउने भएका छन्। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुन लागेको पहिलो संयुक्त सैन्यअभ्यासको पूर्वसन्ध्यामा क्वान नेपाल भ्रमणमा आउन लागेका हुन् ।


ADVERTISEMENT


चीनको महत्वकांक्षी परियोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर), सिल्क रोड र सैनिक सहयोग विस्तारका लागि क्षेत्रीय सुरक्षा रणनीतिक योजनाअनुसार १९ सदस्यीय टोलीको नेतृत्व गर्दै क्वान चैत १० मा काठमाडौं आउनेछन् । नेपाल र चीनका सेनाले गर्ने संयुक्त अभ्यासमा सहभागी नभए पनि क्वानले अभ्यासको तालिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै, गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा तय भएका अजेन्डाका विषयमा समेत क्वानसँग छलफल हुनेछ । यस्तै, चीनले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगका विषयमा समेत छलफल हुने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


रक्षामन्त्री बालकृष्ण खाँडले चिनियाँ समकक्षी सद्भावना भ्रमणमा आउन लागेको बताए । भ्रमणक्रममा विविध विषयमा छलफल र सम्झौताको सम्भावना रहे पनि पूर्वयोजना र अजेन्डा तय नभएको बताए । उनले भने, ‘सद्भावना भ्रमणका लागि आउन लाग्नुभएको हो, आएपछि केही विषयमा छलफल र सम्झौता हुन सक्छ, हालसम्म कुनै अजेन्डा तय भएको छैन ।’

रक्षा सचिव श्रीधर सापकोटाले रक्षामन्त्री खाँडको निमन्त्रणामा क्वान नेपाल भ्रमणमा आउन लागेको बताए । उनले तीन दिनको भ्रमणमा क्वानले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटवार्ता गर्नेछन् ।
क्वानले नेपाली सेनाका उपत्यकास्थित युनिट र संयुक्त अभ्यासका विषयमा जानकारी लिनेछन् । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र अन्य राजनीतिक दलका अध्यक्षसँग पनि क्वानले भेटवार्ता गर्न सक्ने सम्भावना छ ।

जंगीअड्डा उच्चस्रोतका अनुसार नेपाल, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्किएका क्वानले सैनिक संयुक्त अभ्यासबाहेक संयुक्त राष्ट्र संघ शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउन आवश्यक बन्दोबस्तीका सामग्री सहयोग गर्ने सम्झौतामा हस्ताक्षर हुन सक्नेछ ।

विपत व्यवस्थापन र क्षेत्रीय आतंकवादविरुद्धको विश्वव्यापी अभियानमा नेपाली सुरक्षा निकायलाई आवश्यक साधनस्रोतमा समेत चीनले सहयोग गर्ने सम्भावना छ ।

सैनिक प्रवक्ता उपरथी ताराबहादुर कार्कीले रक्षा मन्त्रालयको समन्वयमा हुन लागेको चिनियाँ रक्षामन्त्री क्वानको भ्रमणमा नेपाली सेनाले सरकारको निर्देशनअनुसार तयार तालिकामा सहकार्य गर्ने बताए । उनले उच्च तहका नेताको भ्रमण भएकाले नेपाली सेनाले मन्त्रालयको तालिकाअनुसार कार्य गर्ने बताए । ‘मन्त्रालयको समन्वयमा भ्रमण तय भएको छ, सेनाले निर्देशनअनुसार काम गर्नेछ’, कार्कीले भने ।
रक्षा मन्त्रालयले क्वानको मर्यादाक्रमअनुसारको सुरक्षा प्रबन्ध मिलाउन सोमबारै पत्र लेखेर गृह मन्त्रालयलाई आग्रह गरिसकेको छ ।
रक्षामन्त्री खाँडले असोज २३ देखि ३० सम्म गरेको चीन भ्रमणमा समकक्षी क्वानलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । क्वान चैत १२ मा भ्रमण सकेर नेपालबाट सोझै बंगलादेश जानेछन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि चैत्र १० मै चीनको भ्रमण गर्ने कार्य तालिका तय गरिएको छ ।