काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माओलीका कारण लोकतन्त्र र संविधानमाथि नै खतरा उत्पन्न भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपा पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत शासन सञ्चालन गरेको, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने प्रयास गरेको, कोरोनाबाट बच्न जनतालाई खोप उपलब्ध गराउन नसकेको र पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गरेको लगायत गैर जिम्मेवार काम गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT

# # #


उनले अघि भने, ‘लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ ।’ असंवैधानिकरुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गरेको प्रधानमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान संकटमा रहेको देउवाले बताएका छन् ।

प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित आह्वान अनुसार प्रधानमन्त्रीमा दाबी गर्दा पनि राष्ट्रपतिले स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरेको उनले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ ।’ उनले आफूहरुले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएको उल्लेख गरे ।

सभापति देउवाले देशमा सिर्जना गरिएको राजनीतिक अस्थीरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्ने बताए । उनले सबै छिमेकी र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध राख्ने बताए ।

उनले भने, ‘नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीहरुले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीको आधारमा गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं ।’