गण्डकी– ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ ।


ADVERTISEMENT


सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना महिला समूहको सक्रियतामा पोखरा महानगरपालिका—३३ भरतपोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौताराको पुनःनिर्माण गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


करीब दुई लाख रुपैयाँको लागतमा पुनःनिर्माण गर्न लागिएको चौताराका लागि महानगरपालिकाबाट एक लाख रुपैयाँ विनियोजन गरिएको समूहका सचिव सीता केसी महतले बताइन् । ‘पुनःनिर्माणका लागि महानगरबाट विनियोजित रकमका साथै स्थानीयवासीले जनश्रमदान पनि गरेका छन्, अझै केही रकम अपुग हुने भएको हुँदा थप श्रमदान एवं सहयोगको पनि अपेक्षा गरेका छौँ’, उनले भनिन् ।

मल्लकालीन कोटभैरव मन्दिर जाने मुख्य चोकमा रहेका कारण यस चौताराको अस्तित्व प्राचीनकालदेखि रहँदै आएको बुढापाका बताउँछन् । स्थानीय ज्येष्ठ नागरिकहरू लीलबहादुर महत र सोमबहादुर थापा विभिन्न प्रमाण समेतका आधारमा झण्डै २०० वर्ष पहिलादेखि नै यस चौताराको अस्तित्व रहँदै आएको बताउँछन्।

स्थानीय ऐतिहासिक महत्वका सम्पदाको संरक्षणलाई समूहले उच्च प्राथमिकतामा राख्दै त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको समूहका अध्यक्ष कर्णकुमारी महतले जनाइन् । रासस