काठमाडौँ– रक्षा मन्त्री भीमसेनदास प्रधान नेपाल सरकारको प्रतिनिधित्व गर्दै दिवंगत थाइ नरेश भूमिबोल अदुल्यादेजको शाही अन्त्येष्टिमा सरिक भएका छन् । थाइ नरेश अदुल्यादेजको हिजो बैंककमा अन्त्येष्टि गरिएको हो ।


ADVERTISEMENT


मन्त्री प्रधानकी पत्नी विद्या वनमाली प्रधान, परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाप्रसाद भण्डारी र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी पनि अन्त्येष्टि समारोहमा सामेल भएका थिए ।


ADVERTISEMENT

# # #


परराष्ट्र मन्त्रालयका अनुसार अन्त्येष्टि समारोहमा ४२ मुलुकका उच्चस्तरीय अतिथिहरुको सहभागिता थियो ।

थाइ नरेश महा बजिरलोङकर्न बोधिन्द्रदेवायवरङकनसँगको संक्षिप्त भेटमा मन्त्री प्रधानले थाइ नरेश अदुल्यादेजको अवसानबाट थाइ नरेश, थाइ शाही परिवार र थाइ जनताले व्यहोर्नु परेको अपूरणीय क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक समवेदना प्रकट गरे ।

थाइ नरेश अदुल्यादेजको सन् २०१६ अक्टुबर १३ तारिखका दिन निधन भएको थियो । उनको पार्थिव शरीरलाई बैंककको राजप्रासादमा अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न राखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मे मा बैंकक पुगेर दिवंगत नरेशप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन् ।