नेपाली नम्बरप्लेटका बुलेटमा ग्यास आयात गर्ने विषयमा भारतीय ढुवानीकर्तासँग स्वदेशी उद्योगीले छलफल गर्ने भएका छन् । सो विषयमा छलफल गर्न भारतीय ग्यास ढुवानीकर्ता अर्को साता काठमाडौँ आउन लागेको ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘ग्यास आयात सम्बन्धमा छलफल गर्न भारतीय ढुवानीकर्ता एक सातामा काठमाडौं आउँदै छन्,’ उनले भने, ‘उनीहरूसँग छलफल गरेर नेपाली नम्बर प्लेटका बुलेट सञ्चालनका विषयमा ठोस धारणा बनाउँछौँ ।’


ADVERTISEMENT


व्यवसायीले आयल निगमबाट ७ सयभन्दा बढी बुलेट सञ्चालन गर्ने अनुमति लिइसकेका छन् र, बुलेट सञ्चालनका लागि आवश्यक प्रक्रिया थालेका छन् । त्यसमा अब भारतले बुलेटमा ग्यास हालेर ढुवानी गर्दा कुनै जोखिम नरहेको भनेर प्रमाणित गरिदिनुपर्ने (एक्स्प्लोसिभ सिर्टिफिकेट) काम मात्रै बाँकी छ । नागपुरमा रहेको एक्स्प्लोसिभ डिपार्टमेन्टले नेपाली नम्बरप्लेटका बुलेटलाई प्रमाणित गरिदिन आनाकानी गरिरहेको छ । भारतीय ढुवानीकर्ताले आफ्ना बुलेट प्रयोगविहीन हुने देखेर नागपुरको एक्स्प्लोसिभ डिपार्टमेन्टलाई प्रलोभनमा पारी नेपाली बुलेटलाई सर्टिफिकेट नदिन चलखेल गरेको स्वदेशी उद्योगीको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘भारतीय ढुवानीकर्ताकै चलखेलका कारण नेपाली नम्बरप्लेटका बुलेटले एक्स्प्लोसिभ प्रमाणपत्र पाएका छैनन्,’ एक व्यवसायीले भने । यही विषय एक सातापछि हुने छलफलमा उठान गर्ने उद्योगीको भनाइ छ । भारतीय ढुवानीकर्तासँग छलफल गर्नु सकारात्मक हुने आयल निगमको ग्यास विभाग प्रमुख दीपक बरालले बताए ।

‘भारतीय ढुवानीकर्तासँग छलफल गरेर निकास निकाल्ने प्रयत्न सकारात्मक हो,’ उनले भने । भारतीय ढुवानीकर्तासँग उद्योगीले अक्टोबरसम्म मात्रै बुलेट प्रयोगको सम्झौता गरेका थिए । नेपाली नम्बरप्लेटका बुलेटको समस्या समाधान नभएसम्म भारतीय बुलेटमै ग्यास ओसार्ने गरी सम्झौता नवीकरण हुने अध्यक्ष भण्डारीले बताए । ‘बुलेटको समस्याले ग्यास आयातमा कुनै अवरोध हुँदैन,’ उनले भने, ‘ढुवानी सम्झौता नवीकरण गरी भारतीय बुलेटमै केही समय आयात हुन्छ ।’ – नयाँ पत्रिकाबाट