– राजु श्रेष्ठ


ADVERTISEMENT


हत्या हिंसाको राजनीतिबाट मुलुकलाई जोगाउँदै शान्ति स्थापनाका निम्ति शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेसका सादगी, समाजसेवी नेता नरोत्तम वैद्यको अभिव्यक्तिलाई लिएर भएको तरंगित अवस्थामा केही लेख्न मन लाग्यो ।


ADVERTISEMENT

# # #


त्यागी सर्वोच्च नेता गणेशमान सिँह र सन्त नेता किसुनजीका अनुयायी, जीवनभर २४ सै घण्टा समाजसेवामा तल्लीन, खुट्टामा सदैव चप्पल मात्रै लगाई सादगी, सरल स्वभाव भएका परिपक्व राजनीतिज्ञ हुन् नरोत्तम दाई । जसलाई सामुन्ने पाउँदा श्रद्धाले पाउ छुन मन लाग्छ । उनैले संसदीय मर्यादा नाघेर  किन यस्तो अभिव्यक्ति दिए होलान् ?

राजनीतिक संवादको तुलनामा २४ सै घण्टा नरोत्तम दाईको मोवाईलमा घण्टी बज्दा रगत चाहियो, हस्पिटल जानुपर्यो, एम्वुलेन्स, शव बाहन पठाईदिनुपर्यो, मृत्यु संस्कारमा सहयोग गरिदिनुपर्यो देखि दाल चामलसम्मको संवाद सुन्ने गरिन्छ ।

यदाकदा लाससँगैको बाग्मती नदीमा बाँदरले बच्चालाई पिठ्युँमा बोकेर खोला तर्न खोज्दा नाक मुख भन्दा माथि पानी पुगेपछि बच्चालाई टेकेर आमा खोला पारी पुगेर बिलौना गरेको देखिन्छ । कतै यस्तै राजनीतिक परिदृष्यले त सादगी नरोत्तम बैद्यबाट अनायस यस्तो अभिव्यक्ति आएको त होईन ?

गान्धीको हत्या किन ? पुस्तकमा नाथुराम गोड्सेको अदालतमा दिएको बयानमा देशलाई विभाजन गरेको प्रति देशभक्ति भावको आवेगमा अहिँसावादी गान्धीजीको हत्या गर्ने निर्णय भएको पढ्न पाईन्छ । गान्धीजी प्रति अगाध स्नेह राख्ने गान्धिवादलाई जीवनमा अनुशरण गरेका सादगी, समाजसेवी अनुकरणीय व्यक्तित्व गान्धीवादी नेता नरोत्तम वैद्यसँग तत्काल मोवाईलमा सम्पर्क गरी जिज्ञासा राखेपछि मन शान्त भयो !

व्यक्ति हत्या र हिँसाको राजनीतिलाई कहिल्यै स्वीकार गर्न नसक्ने भन्दै ‘न त मूलुकमा गान्धी जस्ता नेता छन्, न त नाथुराम गोड्से जन्मन सक्छ’ उहाँले भन्नुभयो ‘देशमा अति भो भन्नका लागि मेरो उदाहरण गलत हुन पुग्यो । मैले आत्मालोचना गरिसके ।’ उनको भनाई पछि मलाई अझ बढी सम्मान बढ्यो नरोत्तम दाईप्रति । क्षमा माग्न पनि हिम्मत चाहिन्छ !

दाईको ‘आक्रोश’ पछिल्लो राजनीतिक अवस्थाको उपज मात्र हो । जुन अभिव्यक्ति विवादित बन्यो त्यसलाई उहाँको प्रष्टिकरण र आत्मालोचनाले समाधान गरिसकेको छ । गलत माथि गलत गर्दै झन उत्ताउलो उन्माद गर्ने हाम्रो राजनीतिमा स्वच्छ मन भएका सादगी, गल्तिलाई सच्याउने आँट भएका ईमान्दार गान्धिवादी नेता नरोत्तम वैद्यको खाँचो छ यो समाज अनि राजनीतिमा ।

(श्रेष्ठ नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ४ का सभापति हुन् ।)