विराटनगर– मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेका छन् ।


ADVERTISEMENT


जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अघ्र्य अर्पन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका छन् । विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्छन् ।

उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताए ।

कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ ।

विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ । हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ ।