काठमाडौँ– सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।


ADVERTISEMENT


गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरेका थिए । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेका थिए । खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरे ।

कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८ औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेनन् । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारेका छन् । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ । रासस