सउल– एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौँ पुगेको हो ।


ADVERTISEMENT

# # #


उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताएका छन्। नेपाली राजदूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल पुर्‍याइदिएको हो ।

सङ्कलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्फत जुन ५ मा नेपाल पुगेको महासचिव सुवेदीले जनाए ।

कोरियास्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्वको लडाइँमा ऐक्यबद्वता प्रदर्शन गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ । एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग सङ्कलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । रासस