काठमाडौँ– आज अन्र्तराष्ट्रिय स्तरमा विश्वभरि नै सुर्ति दिवस मनाइँदै छ । प्रत्येक वर्षको मे ३१ मा पर्ने यस दिवस सुर्तिविरुद्वको विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको हो ।


ADVERTISEMENT


परापुर्व कालदेखि नै विभिन्न बाहानाको रुपमा प्रयोग गर्दै आएको सुर्तिजन्य पदार्थका कारण हालसम्म अगन्य मानिसहरुले अकालमा ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


सुर्ती एक लागु पदार्थ हो। यसमा पाइने निकोटिन नामको रसायनिक पदार्थले व्यक्तिमा यसको लत बस्छ भने यसमा २० भन्दा बढी क्यान्सर गराउने रसायनहरू हुन्छन् । जसबाट व्यक्तिमा उच्चरक्त चाप लगायत मुटुरोग, दमखोकी र क्यान्सरसम्मका समस्याहरु देखिन्छन् । जसकारण संक्रमित व्यक्ति निको हुन समय लाग्ने वा जटिलता हुने र मृत्युसमेत हुने जोखिम उच्च रहन्छ । यस्तै, गर्भवस्थाका दौरानमा कुनैपनि महिलाले सुर्तिजन्य पदार्थको सेवन गरिरहेको अवस्थामा  तुलनात्मक रुपमा सो महिलाबाट जन्मने शिशुको दिमागको विकास कम वा ढिलो हुने, अपाङ्ग जन्मने वा झोकी एवम् रिसाहा  हुने विभिन्न राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरका अध्ययन अनुसान्धानले देखाएको छ ।

यसैगरि, अधिकांशले सुर्तिजन्य पदार्थलाई धुम्रपानको रुपमा पनि सेवन गर्ने गरेको पाइन्छ । र,  धुम्रपान यस्तो वस्तु हो, जसको सेवनले व्यक्तिको स्वास्थ्य मात्रै नभई परिवार, समाज एवम् सिंगो राष्ट्रलार्ई नै असर गर्दछ । धुम्रपान सेवनबाट आउने धुवाँको कारण धुम्रपान नगर्ने व्यक्तिका लागि पनि उत्तिकै हानिकारक हुने गर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने, सु्र्तिजन्य पदार्थ सेवनकै कारण प्रत्येक वर्ष विश्वमा ज्यान गुमाउनेको संख्या ८० लाख रहेको छ । जसमध्ये झण्डै १२ लाखभन्दा बढि मानिसहरु स्वयमले नभई अरुले सेवन गर्ने धुम्रपानको कारण ज्यान गुमाउन बाध्य रहेका छन् । यस्तै नेपालकै सन्दर्भमा हेर्ने हो भने, सुर्तिजन्य पदार्थ सेवनकै कारण प्रतिवर्ष २७ हजारभन्दा बढि व्यक्तिले ज्यान गुमाइ राखेका छन् । जुन कुल जनसंख्याको १५ प्रतिशत हो ।

सन् २००७ देखि २०१८ सम्मको तथ्यांकलाई विश्लेषण गर्ने हो भने,  सन् २०१८ सम्म आइपुग्दा पनि नेपालमा सुर्तिजन्य पदार्थ सेवनकर्ताको रेसियो समान नै देखिएको छ । विज्ञहरु यसको मुख्य कारण व्यक्तिसंगसंगै सुर्तिजन्य पदार्थको सहज पहुँच एवम् सरकारको कमजोर निति निर्माण रहेको जनाउँछन् । तसर्थ यसका लागि आवश्यक एवम् उपयुक्त कदम चाल्नका लागि विज्ञहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन् ।

कोरोनाले ज्यान लिनसक्ने जोखिम उच्च

कोरोनाको यस महामारीबीच उच्च जोखिमपुर्ण रहेको समुहअन्र्तगत सुर्तिजन्य पदार्थ सेवनकर्ता पनि एक हुन् । विभिन्न तथ्यांकले देखाए अनुसार, धुम्रपान एवम् सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोरोना संक्रमण देखिएको अवस्थामा उनीहरु गम्भीर अवस्थामा पुग्न सक्ने वा ज्यानै समेत लिनसक्ने जोखिम उच्च रहन्छ ।

यद्यपि यस किसिमको तथ्यांक बाहिर आउनुले पनि सुर्तिजन्य पदार्थ सेवनकर्तालाई यस लतबाट कहिँ न कहिँ छुटाउन प्रेरित गरेको विज्ञको भनाई छ ।

बचाउन सकिने मृत्यु

सुर्तिजन्य पदार्थ सेवनबाट हुने मृत्युलाई बचाउन सकिने मृत्युको रुपमा पनि लिइन्छ । करोडौलाई मृत्युको मुखमा पुर्‍याएको यस सुर्तिजन्य प्रयोगलाई रोक्नका लागि हामीले यसको सेवनकर्तालाई प्रेरित पनि गर्न सक्छौ । र, यसैबाट पनि उनीहरुको सो लतलाई छुटाउन सकिन्छ । यद्यपि यसका लागि भने सुर्ती सेवनकर्तालाई अन्य दोस्रो व्यक्तिको सहयोगको आवश्यकता पर्छ ।

लत त्याग्न चाहानेमध्ये ४ प्रतिशत मात्रै सफल

विभिन्न तथ्यांकले जनाएअनुसार, कुनै पनि व्यक्तिमा यसको सेवन कुलतको रुपमा विकास भइसकेपछि पनि उनीहरुको कुल संख्यामध्ये ६० प्रतिशत व्यक्ति यसको सेवन त्याग्न चाहान्छन् । यद्यपि यो उनीहरुको निम्ति अति नै चुनौतीपुर्ण रहने भएकाले पनि उनीहरुलार्ई अन्य व्यक्तिको सहयोग चाहिन्छ । अन्यथा यसको अभावमा उनीहरु मध्ये ४ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको लतबाट बाहिर आउन सफल हुन्छन् ।

यस दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै यस दिनलाई ‘नो टोब्याको, क्विट टोब्याको’को लक्ष्य राखी ‘सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस् : कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्’  भन्ने मुल नाराका साथ देशव्यापी रुपमा मनाइदै छ ।