पूर्णप्रसाद न्यौपाने, ओखलढुङ्गा– ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् ।


ADVERTISEMENT


जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि प्याड बनाउने तालीम आयोजना गरिएको थियो । उक्त तालीममा सिकेको सीप प्रयोग गरेर आफूलाई आवश्यकपर्ने सेनिटरी प्याड आफैँ बनाउने गरिएको सिद्धिचरण नगरपालिका– ९ की लक्ष्मी बानियाँले बताउँछिन् । यसरी आफैँले बनाएको सेनिटरी प्याड प्रयोग गर्दा सहज भएको र बजारको प्याड किन्नु नपर्दा त्यो पैसासमेत बचत हुने उनको भनाइ छ ।

‘पहिला प्याड नहुँदा साह्रै समस्या हुन्थ्यो । चाहेका बेला बजारमा गएर किन्नुपर्ने हुन्थ्यो । अहिले आफैँले प्याड बनाउन सिकेपछि साह्रै सहज भएको छ । नियमित प्याड किन्दा खर्च हुने पैसासमेत बचत हुन थालेको छण्द्दज्ञड, उनले भनिन् । किशोरीहरुका लागि आयोजना गरिएको रुपान्तरणको तालीमले प्याड बनाउन सिकाएदेखि आफैँले आफू र आफ्ना नजिकका साथीलाई समेत आवश्यक पर्ने प्याड बनाइदिने गरेको उनको भनाइ छ ।

सिद्धिचरण नगरपालिकाका किशोरीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला एकपटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका– ११ की किशोरी वसन्ता खत्रीको भनाई छ । खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरुलाई पनि सिकाइरहेका छन् । ‘पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थे, अहिले आफैँले बनाउँछु । मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरुलाई पनि सिकाउने गरेको छु’, खत्रीले भने ।

प्याड बनाउन सिकेपछि किशोरीहरुको विद्यालयमा उपस्थिति समेत बढेको किशोरी अभियान्ता सरस्वती बानियाको भनाई छ । विगतमा रजश्वला हुँदा महिनामा चार दिन विद्यालयमा गयल हुने किशोरीहरु अहिले आफैँले बनाएको प्याड प्रयोग गरेर नियमित विद्यालय जाने गरेको उनको भनाई छ । रजस्वलासामान्य प्रक्रिया हो तर यसले महिलाको जीवनमा निकै ठूलो प्रभाव पर्दछ । यहाँसम्मकी रजश्वला हुँदा विद्यालय जान नसक्ने अवस्था हुन्थ्यो’ बानियाले थपिन्, प्याड नपाउँदा महिनामा ४–५ दिन गयल हुने छात्राहरु अहिले आफुले प्याड बनाउन सिकेपछि नियमित विद्यालय जान थालेका छन् ।’

महिनावारी हुनु एउटा प्राकृतिक प्रक्रिया भएपनि यसलाई समाजमा एउटा सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक र सांस्कृतिक वर्गीकरणको कारण बनाउने गरेको उनी बताउँछिन् । महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडको प्रयोगका बारेमा छलफल गर्न लजाउने किशोरीहरुले अहिले आफैँले प्याड बनाएर आफु र आफ्ना साथीभाइको आवश्यकता पूर्ति गर्न थालेको उनले जनाईन् । बाँनियाकै नेतृत्वमा जिल्लामा सबैभन्दा पहिला स्थानीय किशोरीहरुलाई प्याड बनाउने सीप सिकाइएको थियो ।

जिल्लाको सिद्धिचरण नगरपालिकाले पनि स्थानीय महिलाहरुका लागि प्याड बनाउने तालिम दिएको छ । नगरपालिकाबाट तालिम पाएपछि विगतमा पुराना तथा फाटेका कपडाका टालोले काम चलाउने महिलाहरु प्याड प्रयोग गर्न थालेका छन् । तालिम पाएपछि आफूले प्रयोग गर्ने प्याड आफैँले बनाउन थालेको सिद्धिचरण नगरपालिका– ११ की विष्णुमाया तामाङले बताइन् । ‘हामी महिलालाई रजश्वला लुकाउन साह्रै कष्ट हुन्छ । पहिला पहिला त प्याड भन्ने पनि थाहा थिएन । यस्तो हुन्छ रे भन्ने सुनेको मात्रै हो’, उनले भनिन्, ‘अहिले हामी आफैँ बनाएर प्रयोग गर्छौं । लगाउन सजिलो हुने स्वास्थ्यका हिसाबले पनि निकै राम्रो हुँदो रहेछ ।’ आफैँले बनाएर प्रयोग गर्ने प्याड निकै लाभदायक हुने भएकाले सबै महिलाहरुले यो सीप सिक्नुपर्ने उनको भनाई छ ।

सिद्धिचरण नगरपालिकाले केही महिना अघि महिला सहकारीका १४ जना सदस्यलाई कपडाको प्याड बनाउने तालिम दिएको थियो । महिला जागरण तथा सशक्तिकरणका लागि व्यवहारिक सीप अन्तर्गत प्याड बनाउन सिकाइएको नगरपालिकाको महिला तथा बालबालिका शाखाका अधिकृत सरिता तामाङले बताइन् । सञ्चालित तालिमबाट स्थानीय महिलाहरुले लाभ लिएको र यसको प्रभावकारीता हेरेर अन्य महिलालाई समेत तालिम दिइने उनको भनाई छ ।

‘महिलाहरुबाट माग पनि आयो र आवश्यकता समेत महसुस गरेर सुरुमा सहकारीका महिलालाई प्याड बनाउने सीप सिकाएका छौँ’, अधिकृत तामाङ भन्छन्, ‘यो निकै प्रभावकारी रहेको प्रतिक्रिया आयो, अब अरुलाई पनि यस्ता तालिममा समेट्ने हाम्रो लक्ष्य छ ।’ सिकेकाहरुले समुदायका अरु महिलालाई सिकाउनुपर्ने उनको भनाइ छ ।

पढेलेखेका शिक्षित मानिसहरुले सामान्य ठाने पनि कतिपयले महिनावारीलाई समस्याका रुपमा लिने गरेका छन् । यसले गर्दा महिलाहरुको स्वास्थ्य र स्वाभिमानमा प्रतिकूल प्रभाव पार्दछ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा र यससम्बन्धी गलत धारणा हटाउने लक्ष्यका साथ प्रत्येक वर्ष मे २८ का दिन सुरक्षित महिनावारी दिवसका मनाइन्छ । विगतमाभन्दा निकै सुधार आएपनि अझै समुदायमा जरा गाडेर बसेको महिनावारी सम्बन्धी गलत धारणाले महिलाहरु महिनावारी हुँदा पिडाबोध गर्न बाध्य छन् ।

नेपाली समाजमा धर्म संस्कृतिसँग जोडेर महिनावारीलाई व्याख्या गर्ने चलन छ । रजश्वला हुने प्रक्रियालाई सामान्य रुपमा लिन नसक्ने समाजमा सेनिटरी प्याड बनाउने सीपको महत्व बुझाउन अझै समय लाग्ने भएपनि हरेक महिलाले प्याड बनाएर प्रयोग गर्न जान्नुपर्ने अभियान्ताहरु बताउँछन् ।

रजश्वला भएका बेला आवश्यक सरसफाईमा ध्यान नदिँदा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले प्याडको सही प्रयोग गर्न र सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मी शर्मिला राईको सुझाव छ । रजश्वला हुनु स्वभाविक प्रक्रिया हो । तर अस्वभाविक जस्तो मान्ने, खुलेर यसका विषयमा छलफल नगर्ने र सरसफाइमा समेत खासै ध्यान नदिँदा कतिपय महिलामा दिर्घकालीन स्वास्थ्य समस्याहरु देखा पर्दछ । उहाँले यसरी आफैँले प्याड बनाएर प्रयोग गर्ने सकिने सीपको विस्तार गर्न सक्नुपर्ने बताउँछन् । रासस