काठमाडौं- काठमाडौंमा सार्वजनिक सवारी साधन चढ्नासाथ कति रुपैयाँ तिर्नुपर्छ र तपाईंले सजिलै उत्तर दिनुहुनेछ, १५ रुपैयाँ । सरकारले तोकेको न्युनतम भाडादर १३ रुपैयाँ हो भन्ने धेरैलाई जानकारी नहोला । फेरि थाहा भएरै पनि के अर्थ रु तिर्नु त आखिर १५ रुपैयाँ नै पर्छ । हो, यसैगरी एक–एक जना ठगिँदा उपत्यका दैनिक ६० लाख रुपैयाँभन्दा बढी ठगी हुन्छ र वर्षमा झण्डै साढे २ अर्ब ।


ADVERTISEMENT


भदौ ०७२ देखि यात्रुवाहक सवारी साधनको भाडा दुई दशमलव दुई प्रतिशतले घट्यो । र, न्युनतम १३ रुपैयाँ कायम भयो । तर, काठमाडौंमा गुड्ने सार्वजनिक बस, माइक्रोबस र टेम्पोलगायतले यात्रुसँग पूरानै दरमा भाडा असुलिरहेका छन् ।


ADVERTISEMENT

# # #


सबै सार्वजनिक सवारीले अझै पनि न्युनतम भाडा १५ रुपैयाँ असुलिरहेका छन् । कसैले पैसा फिर्ता मागिहाले बसका सहचालक र कन्डक्टरसँग सजिलो जवाफ छ, ‘खुद्रा पैसा नै छैन ।’ १५ रुपैयाँभन्दा बढी पैसा लाग्ने रुटमा चढ्ने पनि तोकिएभन्दा बढी नै भाडा तिरिरहेका छन् ।

उपभोक्ता हित संरक्षण विभागको सवारी अनुगमन र कारवाहीको तथ्यांकलाई आधार मान्ने हो भने उपत्यकामा चल्ने ८५ प्रतिशत गाडीले तोकिएभन्दा बढी भाडा असुल्छन् ।

झण्झट हुने भएकाले धेरैजसो यात्रुले फुटकर पैसा बोक्दैनन् । १३ रुपैयाँ भाडा तोकिएको रुटमा गाडी चढ्दा जति पैसा दिए पनि सवारीका कन्डक्टरले १५ रुपैयाँ नै लिन्छन् । फुटकर नभएको बहाना व्यवसायीलाई फाइदा लुट्ने मेलो बनेको छ । प्रायः उपभोक्ता पनि दुई रुपैयाँमा किन विवाद झिक्नु भन्ने मानसिकतामा छन् ।

‘१६ रुपैयाँ भाडा लाग्ने रुटमा २० रुपैयाँ लिन्छन् । तर, १३ रुपैयाँ भाडा भएको रुटमा १५ रुपैयाँ दिँदा दुई रुपैयाँ फिर्ता गर्ने कोही छैनन्,’ रत्नपार्कबाट नयाँबानेश्वरका लागि माइक्रोबस चढेकी एक यात्रु भन्छिन्, ‘दुई रुपैयाँमा किन झगडा गर्नु, खाउन् ।’

हो, उपभोक्ताको यही सोचाइको बलमा पाँच अर्ब रुपैयाँभन्दा बढी ठगी भएको छ । उपभोक्तालाई एउटा बस चढ्दा दुई रुपैयाँ बढी पैसा लिनु सामान्य लाग्न सक्छ । व्यवसायीलाई भने सबै यात्रुसँग दुई रुपैयाँ बढी उठाउँदा समग्रमा ठूलो नाफा हुन्छ, जसलाई उपभोक्ताले खासै ध्यानपूर्वक लिएका पनि हुँदैनन् । जस्तो एउटा यात्रुले दिनमा दुई पटक मात्रै गाडी चढ्दा चार रुपैयाँ बढी पैसा तिर्छ । उसले महिनामा एक सय २० रुपैयाँ बढी पैसा तिर्छ ।

तर, वर्षदिनमा आफूले तिर्नुपर्नेभन्दा एक हजार चार सय ४० रुपैयाँ बढी तिरेको कुरा उपभोक्ताले हिसाब राख्दैनन् । दिनमा चार पटक सार्वजनिक सवारी प्रयोग गर्नेसँग वर्षमा दुई हजार आठ सय ८० रुपैयाँ ठगिन्छ । अर्थात्, एउटा बसले दैनिक एक हजार यात्रुसँग दुई रुपैयाँ बढी असुल्यो भन्यो उसले दिनमा दुई हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार उपत्यकामा झण्डै ३२ हजार सार्वजनिक सवारी गुड्छन् ।

सार्वजनिक सवारीमा तोकिएको न्युनतम भाडा हो १३ रुपैयाँ तर १५ असुलिरहेका छन्, कसैले दुई रुपैयाँ फिर्ता मागे सहचालकको जवाफ हुन्छ, ‘खुद्रा पैसा छैन’

दैनिक ३५ पटक यात्रुले ओहोर–दोहोर गर्ने अनुमान छ । सार्वजनिक सवारी प्रयोग गर्ने कामकाजी एक यात्रुले सरदर पाँच पटक ओहोरदोहोर गर्ने महासंघका महासचिव सरोज सिटौला बताउँछन् । सिटौलाको भनाइलाई नै मान्ने हो भने एक दिनमा उपत्यकामा ३५ लाख पटक यात्रु (एउटै यात्रु हरेक पटक चढेको गन्दा) सार्वजनिक सवारी साधन चढ्छन् । उनीहरुमध्ये ८५ प्रतिशत मात्रै ठगिने सरकारी आँकडालाई आधार मान्दा करिब ३० लाख यात्रुले बढी भाडा तिर्छन् ।

उनीहरुसँग औसत दुई रुपैयाँ मात्रै ठगिन्छ भन्ने मानियो भने दैनिक ६० लाख रुपैयाँ अतिरिक्त आम्दानी गरिरहेका छन्, व्यवसायीले । यसप्रकार एक महिनामा सार्वजनिक सवारीले उपत्यकामा मात्रै १८ करोड रुपैयाँ ठगी गर्छन् । यो हिसाबले नयाँ भाडादर लागू भएको २६ महिनामा व्यवसायीले तोकिएभन्दा चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी भाडा असुलेको देखिन्छ । ट्याक्सीमा हुने ठूलो रकमको ठगीलाई औसतमै राख्दा पनि ठगीको विकराल चित्र सामुन्नेमा आउँछ । – अनलाईन खबरबाट