काठमाडौँ– बिहिवार राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका निम्ति गरेको आह्वानको कदमप्रति नेपाल विद्यार्थी संघले घोर भत्र्सना जनाएको छ ।


ADVERTISEMENT


देश कोरोना भाइरसको महामारीबाट आजित भइरहदा यता सरकार भने जनताको विषम् परिस्थितिलाई बेवास्ता गर्दै सत्ता मोहमै तल्लीन भएको भन्दै नेवी संघले राष्ट्रपतिको सो कदमविरुद्व आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


संघका अध्यक्ष राजीव ढुंगानाले आज एक विज्ञप्ति जारी गर्दै देशको विकराल अवस्थामा देशको सरकार अरु सबै काम छोडी २४ सै घण्टा नेपाली जनताको जीवन रक्षाका निम्ति केन्द्रित भएर लाग्नु पर्नेमा वर्तमान ओली सरकार कसरी सत्तामा टिकी रहने र सत्ताको आयू लम्ब्याई रहने भन्ने एक सुत्रीय अभियानमा लागि रहनु सवै नेपालीका निम्ति दुर्भाग्यपूर्ण र विडम्वनापूर्ण रहेको जनाएका छन् ।

संविधानको संरक्षक तथा राष्ट्रकै अभिभावक राष्ट्रपति समेत जनता वचाउने महान कार्यमा लाग्नुको सट्टा कुर्सी वचाउने तुच्छ कार्यमा ओलीको कारिन्दाको रुपमा लाग्नु नेपाली जनताको निम्ति लज्जा र आक्रोशको विषय रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीवन रक्षा गर्ने मूल दायित्वलाइ चटक्कै विर्सिदै तथा लोकतन्त्र र संविधानलाइ कमजोर पार्दै ओली सत्ताको आयु लम्व्याउन प्रधानमन्त्री र राष्ट्रपति वाट भएका असंवैधानिक गतिविधिको ने. वि संघ घोर भत्सर्ना र निन्दा गर्दछ ।’

यसका साथै उनले ठुला दलका आधारमा पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधान धाराको उपधारा ४ को व्यवस्थालाई ठाडै अस्वीकार गर्नु र राष्ट्रपतिले २४ घण्टाको समय समेत नदिई नयाँ सरकारका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएका छन् ।

जनताको अभिभावक मानिएको राष्ट्रपनि पनि ओलीको कारिन्दाको रुपमा लाग्नु नेपाली जनताको निम्ति लज्जा र आक्रोशको विषय बताउँदै विज्ञप्तिमार्फत उनको अब राष्ट्रपति तथा प्रधानमन्त्रीको अपदस्थका लागि सबैमा आह्वान समेत गरेका छन् ।

‘त्यसैले लोकतन्त्र र संविधानको रक्षार्थ फेरि निर्णायक संघर्षको घडी आएको छ । जस्तो सुकै संघर्षको लागि तयार अवस्थामा रहन देश भरीका युवा विद्यार्थी साथीहरुमा आह्वान गर्दछु । आउनोस्, लोकतन्त्र र संविधानको रक्षार्थ ओली विद्या गठवन्धनलाई सधैँको निम्ती परास्त गरौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।