कैले त्यो लिपुलेक फेरि कहिले सुस्ता र मेचीतिर
सीमा मिच्न सदैव उद्यत हुने यौटा छ त्यो पामर
सीमा जो पहिले छ निश्चित छ उही मानी नबस्ने किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन


ADVERTISEMENT


त्यागी वैभव, राजपाट अनि ती पत्नी र छोरा पनि
लागे गौतमबुद्ध ज्ञानपथमा झुठो छ माया भनी
बुझ्दैनन् तर आज शासक कुनै दृष्टान्त यस्ता किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन


ADVERTISEMENT

# # #


सत्ता नै सबथोक हो र यसमै यो जन्मको सार छ
सत्ता प्राप्त भएन लौ यदि भने संसार बेकार छ
यस्तो तुच्छ विचारले दिनदिनै सङ्कीर्ण बन्ने किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन

सत्तामोह कि वा पदीय मदले कर्तव्य बिर्सेपछि
कल्ले गन्छ र दिन्छ साथ कटुता बेफ्वाँक सिर्जेपछि
आफै मात्र महान अन्य भुसुना यो दम्भ पाल्ने किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन

सत्ता पाउँन व्यग्र छन् कति यहाँ जोगाउनै छन् कति
यै चाला सबको छ हुन्छ कसरी यो देशको उन्नति
अर्थोपार्जन मात्र ध्येय छ यहाँ नेताहरूको किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन

कालो चित्त लिएर वित्त जति नै ऐले कमाए पनि
भ्रष्टाचार गरेर फेरि सुनकै छानो बनाए पनि
छोटो आयु छ यो सबै क्षण्कि हो तेरो र मेरो किन ?
पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन

(कवि गंगानाथ कोइरालाद्वारा शार्दूलविक्रीडित छन्द मा रचिएको यो कविता मिमराज पाण्डेयले वाचन गरेका छन् ।)

कविता वाचन सुन्नका लागि तलको लिंक थिच्नुहोस् :