काठमाडौँ – नेकपा एमालेले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उमेदवारलाई मत नहालेको विषयलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैटकले पार्टीको उमेदवारलाई मतदान नगर्ने र विरोध गर्नेहरुको भत्र्सना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्दै कतिपय नेताहरुबाट भएका क्रियाकलापलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको र पार्टीका आधिकारिक उम्मेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने कुराको भत्र्सना गरेको ज्ञवालीले बताए ।


ADVERTISEMENT

# # #


एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको निर्देशन नमान्नु सामान्य विषय नभएको उनले बताए । त्यस्तै बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ ।

भ्याक्सिनलगायतका स्वास्थ्य आवश्यक सामग्रीमा अन्तर्राष्ट्रिय सहायता परिचालन र आयातमा पहल गर्न र कोभिड नियन्त्रणमा तीनै तहका सरकार एकीकृत ढंगले परिचालन गर्नुपर्ने सुझाव आएको ज्ञवालीले बताए ।

प्रवक्ता ज्ञवालीले सांसद नरहेका व्यक्तिलाई पटक पटक मन्त्री बनाउने निर्णय वदर गर्न सर्वोच्चले दिएको आदेशलाई मान्ने र सोहि अनुसार कार्यान्वयन गरिने धारणा पनि राखे ।

त्यस्तै बैठकले पार्टी केन्द्रीय सदस्य योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए ।