काठमाडौँ– ‘शङ्कर ग्रुप’ र ‘इन्फिनिटी होल्डिङ प्रालि’ ले रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


ADVERTISEMENT


विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि ती दुई समूहले संयुक्त रूपमा देशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।


ADVERTISEMENT

# # #


समूहले वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोरोना महामारीको समयमा राज्यलाई परेको अप्ठ्यारोमा थोरै भए पनि सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरेको शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बताउँछन् ।

उक्त समूहले केही दिनमै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी गरिरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शय्याका लागि ‘हाइ फ्लो’ र दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्नेछ ।

दुवै समूहको सहकार्यमा वीर अस्पतालको नयाँ भवनमा ५० शय्याका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोललगायतका सामग्री हस्तान्तरण गरिएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शय्याका साथै त्यसका लागि आवश्यक सामग्री हस्तानान्तरण गरेको जनाएको छ ।

शङ्कर र इन्फिनिटी समूहले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटरसहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तान्तरण गर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेशका लागि ३२० थान तथा कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पतालका लागि १००/१०० थान सिलिण्डर हस्तान्तरण गरिने छ । समूहले सुदूरपश्चिम प्रदेशका लागि एक लाख ५० हजार थान मास्क र २०० थान पीपीइ सेट सहयोग गर्दैछ । रासस