शंखर पहाडी, सर्लाही– दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिइरहँदा सर्लाहीका स्थानीय निकायको तयारी सुस्त देखिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय निकायहरुलाई कोरोना महामारीविरुद्ध तयारी गर्न आग्रह गरे पनि स्थानीय निकायको कुनै तयारी छैन ।


ADVERTISEMENT


कतिपय स्थानीय निकायको तयारी सुस्त छ भने कतिले तयारी नै थालेका छैनन् । प्रदेश नं २ सरकारले पनि प्रत्येक स्थानीय निकायलाई क्वारेन्टिन र आइसोेलेशन व्यवस्थापन गर्न निर्देशन दिएको छ तर त्यसको पनि कार्यान्वयन भएको छैन । कोरोनाको पहिलो लहरमा गत वर्ष राम्रो तयारी गरेका यहाँका स्थानीय निकाय अहिले भने काममा लाग्न सकेका छैनन् ।


ADVERTISEMENT

# # #


अघिल्लो वर्ष बन्दाबन्दी प्रभावितलाई राहत वितरणसँगै भारतसहित अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टिनमा लैजाने, सङक्रमितलाई आइसोलेशन तथा अस्पतालमै पु¥याउने, कन्ट्याक्ट ट्रेसिङ गरेर जिल्लामा सङ्क्रमित खोज्न जनप्रतिनिधि नै लागेका थिए । हाल यस जिल्लामा सक्रिय सङ्क्रमित छ सय ७० पुगेका छन् भने २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दैनिक कम्तीमा ४०÷४५ सङ्क्रमित थपिँदै छन् ।

जिल्लाका केही स्थानीय निकायहरुले कोरोना अस्पताल बनाउन लागेको जनाएका छन् । त्यसबाहेक थप आइसोलेशन निर्माण तथा अक्सिजनको व्यवस्था गर्ने काममा अझै ध्यान नपुगेको स्थानीय जानकार उमाशंकर साहकोे भनाई छ । ‘‘ऐन कानुनले स्थानीय निकायहरुलाई स्वायत बनाएको छ र जिम्मेवारी स्थानीय निकायलाई दिएको छ तर त्यस अनुसारको काम जनप्रतिनिधिहरुले गर्न सकिरहेका छैनन् ।

जनता सङ्कटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्ने उनको सुझाव छ । छिमेकी देश भारतीय सीमाक्षेत्रमा भइरहेको आवतजावतलाई रोक्न र भारततर्फबाट आउनेहरुलाई कुन ठाउँमा राख्ने भन्ने विषयमा स्थानीय तहको कुनै चासो देखिदैन । दैनिक उपभोग्य समान लिन भारतीय बजार जाने क्रम अझै रोकिएको छैन, भारतीय बजारबाट फर्किनेहरुलाई न होल्डिङ्ग सेन्टरमा राखिन्छ नत कुनै स्वास्थ्य जाँच नै गरिन्छ । बिना जाँच घर फर्किंदा सङ्क्रमण अझ भयावह हुने अवस्था देखिएको स्थानीय शिवनारायण चौधरीको भनाई छ ।

सिमाक्षेत्रमा ओहोर दोहोर गर्नेलाई जाँच गर्दा पोजेटिम पाइएकाहरुलाई राख्ने ठाउँ नै नरहेकाले बिना पिसिआर परीक्षण घर फर्काउने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । खुला सिमानाका कारण खुलेआम भारतीय सिमाक्षेत्रमा हुने आवतजावतलाई रोक्ने प्रयास गरेपनि जनप्रतिनिधिहरुले साथ नदिदा समस्या भइरहेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले जनाए ।

अघिल्लो वर्ष भारतीय सीमाक्षेत्रबाट हुने आवतजावत रोक्नेदेखि क्वारेन्टिनमा राख्न जनप्रतिनिधिहरुले अग्रसरता देखाएका तर यसपालि भने उनीहरुको सक्रियता नदेखिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिभुवननगरका शसस्त्र प्रहरी निरीक्षक संजित सिंहले जनाए ।

भारतीसँग यस जिल्लाको ५१ किलोमिटर खुल्ला सिमाना छ । ती सबै स्थानबाट भइरहेको आवागमनको व्यवस्थापनमा स्थानीय निकायहरुले कुनै तयारी नगरेको स्थानीयहरुको गुनासो छ । यता हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम रायको भने अघिल्लो कोरोना कालको जस्तो अहिले परिस्थिति आइनसकेकाले क्वारेन्टिन र आइसोलेशन नबनाएको मत छ ।

‘‘सीमा नाका सिल गरिएकोले भारतबाट नेपाल आउनेहरुको सङ्ख्या न्यून मात्रै छ’, उनी भन्छन्,‘त्यसैले क्वारेन्टिनको अहिलेसम्म आवश्यकता परेको छैन, कसैलाई पनि आइसोलेशनमा राख्नुपर्ने स्थिति आएको छैन ।’ यद्यपि, क्वारेन्टिन र आइसोलेशन तयारी अवस्थामा राख्ने विषयमा छलफल भइरहेको उनको भनाई छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमण पुष्टी भए तत्काल कन्ट्याक्ट ट्रेसिङ्गका लागि पनि तयारी गरेको उनले बताए ।

यता लालबन्दीमा नगरपालिकाले सङ्क्रमण बढ्दै जाँदा क्वारेन्टिन र आइसोलेशन व्यवस्थापनसँगै कन्ट्याक्ट ट्रेसिङ्गको योजना बनाएर अघि बढेको जनाएको छ । ‘‘नगरमा रहेको कोभिड अस्पतालमा आइसोलेशन बेड थप्ने र आइसियू तथा भेन्टिलेटरको व्यस्था कसरी मिलाउने भन्ने विषयमा नियमित छलफल भइरहेको छ, साथै अक्सिजनको व्यवस्था समेत भइसकेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए ।

यस कार्यका लागि अन्य स्थानीय निकाय भन्दा लालबन्दी नगपालिकामा क्वारेन्टिन र आइसोलेशन व्यवस्थापन गर्न अगाडि देखिएको छ । आवश्यक सामानहरु पनि खरिद भइसकेको जनाइएको छ । ‘‘यसअघि अघिल्लो कोरोना कालमा पनि जिल्लाकै एक मात्र सुरक्षित स्थानीय निकायको रुपमा लाबन्दी रहेको स्मरण गर्दै लालबन्दी अहिले पनि जिल्लामै सुरक्षित रहेको देखाउन लागि परेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताए ।

तत्कालका लागि १० अक्सिजन सिलिन्डर समेत खरिद गरेर नगरपालिकामा रहेको १० शय्याको कोभिड अस्पताललाई उपलब्ध गराएको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजनकुमार श्रेष्ठले जनाएका छन् । जिल्लामै सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका मलंगवा नगरपालिकाले क्वारेन्टिन र आइसोलेशन बनाउन नसक्दा सङ्क्रमित घरमै बस्दै आएका छन् । नगरक्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले २५ शय्याको कोभिड अस्पताल बनाएको भएपनि आवश्यक स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सामाग्री नहुँदा बिरामीहरु होम आइसोलेशनमा बस्दै आएका नगर प्रमुख निरसल साहले बताएका छन् । ‘‘सङ्क्रमण दर बढ्दै गएपछि हामीले तत्कालका लागि २५ शय्याको अस्थायी कोभिड अस्पताल बनाएका छौँ तर सङ्क्रमित अस्पताल आउँदैनन्’, उनले भने ।

कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा आइसोलेशन शय्या थप्नेलगायतका काम गर्न नसकेको लालबन्दी नगरपालिकाले जनाएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग सहयोग माग्ने निर्णय पनि गरि सकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ बताउँछन् ।

डिसिसिएमसीले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक औषधि खरिद र एम्बुलेन्स तथा शववाहन परिचालनलगायतका लागि प्रदेश सरकारसँग बजेट माग गरेको छ । स्थानीय निकायलाई आवश्यक पर्ने औषधी, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउन समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी तामाङले जनाए । दोस्रो लहरको सङ्क्रमणका कारण जिल्लामा छ सय ७० जना सङ्क्रमित छन् भने २१ जनाको ज्यान गएको छ ।

देशभरकै सबैभन्दा धेरै २० स्थानीय निकाय रहेको सर्लाहीमा स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेपनि त्यसको प्रभावकारी कार्वान्वयन नहुँदा जिल्लामा केही दिनमै कोरोना सङ्क्रमण फैलिएको हो । जिल्लाका एकाध स्थानीय निकाय बाहेक अरुले क्वारेन्टिन र आइसोलेशन केही पनि बनाएका छैनन् भने सङ्क्रमितहरुको उचित व्यावस्थापन नगर्दा सङ्क्रमितबाटै गाउँघरमा त्रास बढेको छ । कोरोना सङ्क्रमितहरुलाई संस्थागत या घरमै आइसोलेशनमा नराखिदा खुलेआम गाउँमा हिँड्ने गरेका छन् र यसबाट गाउँका धेरै मानिसहरुमा फैलिन पुगेको बताइएको छ । रासस