काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकले अत्यावश्यकीय सामग्री खास गरी अक्सिजन प्लान्ट र खोपलगायत स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ तदारुकताका साथ काम गर्न निर्देशन गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

खोप र अक्सिजनको तत्काल व्यवस्थान गर्न विद्यमान कानूनी अड्चन र बाधा हटाउँदै अघि बढ्ने पनि निर्णय गरिएको छ । अक्सिजन नपाएर मानिसको ज्यानै जाने अवस्था अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै बैठकपछि मन्त्री ज्ञवालीले भने, ‘तयारीका आधारमा रोगको प्रकृति र आक्रामकता दुवै उच्च भएकाले गएका दुई हप्ता हाम्रा लागि निकै कठिन रह्यो, अब त्यो कठिनाइ विस्तारै कम हुँदै जान्छ भन्ने विश्वास गरिएको छ ।’

बैठकले वर्तमान महामारी धान्न अक्सिजन उत्पादन कमी भएकाले देशभित्रका उद्योगलाई पूर्ण क्षमतामा चलाउन उद्योगीलाई प्रोत्साहन गर्ने तथा भारतबाट थप लिक्विड अक्सिजन प्राप्त गर्न निरन्तर कूटनीतिक प्रयास र आग्रह गरिने निर्णय गरेको छ ।

चीन र ओमानबाट केही अक्सिजनका सिलिण्डर ल्याइएको तथा अझै पनि आउने क्रम जारी रहेको बताउँदै सरकारले अब केही दिनपछि अक्सिजनको समस्या हट्ने विश्वास लिएको छ ।

जनस्वास्थ्य विद्का अनुसार अघिल्लो हप्ता बढेर ५६ हजार संक्रमित संख्या पुगेकामा यो साता पनि उस्तै रह्यो । गत तीन दिनको आँकडाले अहिले हामी उच्च विन्दुमा पुगेका हौँ कि भन्ने सरकारले बैठकमा विश्लेषण पनि गरेको जानकारी दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नदिने ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘प्रक्रिया झण्झटिला छन् भने तिनलाई छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जेजे गर्नुपर्छ त्यो गर्नुस् । आवश्यक कानून र प्रक्रिया मिलाएर हरहालतमा नागरिकको जीवन रक्षा होस् ।’

बैठकमा स्वास्थ्य संकटकालका विषयमा पनि छलफल भएको थियो । मन्त्री ज्ञवालीका अनुसार, अहिले सङ्क्रामक रोग ऐनले थाम्न नसकेको वा गर्न नसकेको केके काम स्वास्थ्य संकट लगाएर हुन सक्छ भन्ने तुलनात्मक अध्ययन भइरहेको छ । ‘संकटकाल घोषणाले परिणाम आउँछ भने घोषणा गर्दा उपयुक्त हुन्छ, नभए घोषणा गरेर मात्र नतिजा आउने होइन’, मन्त्री ज्ञवालीले भने ।

देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगबाट महामारीविरुद्ध लगाउन जरुरी आवश्यक रहेको बताउँदै उनले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका अस्पताल, विभिन्न प्रतिष्ठान, प्रादेशिक र स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालका सेवालाई एकीकृत ढंगबाट सञ्चालन गर्न आवश्यक देखिएको उल्लेख गरेका छन् ।

बैठकले झञ्झटिलो प्रक्रिया हटाउनका लागि कानूनी प्रबन्ध तथा खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ । रासस