काठमाडौं-  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र गरेका छन् ।


ADVERTISEMENT


यसै सन्दर्भमा उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन बेरीलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


टेलिफोन संवादमा पोखरेलले अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको भन्दै नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम रहेकाले त्यसका लागि नेपालले अमेरिकाबाट सहयोग अपेक्षा राखेको बताएका थिए ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए ।

उता अमेरिकी राजदूत बेरीको तर्फबाट अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने भन्ने सकरात्मक संकेत आएको पोखरेलको भनाई छ । यद्यपि के के स्वास्थ्य सामाग्री सहयोग गरिने ? भन्ने बारेमा आगामी आइतबारसम्म मात्रै टुंगो लाग्ने उनले जनाए ।

उनका अनुसार, राजदूत बेरीले खोपका बारेमा आफूले पनि पहल गरिरहेको र टुंगो लाग्नासाथ जानकारी गराउने प्रतिबद्वता जनाएका छन् ।

यसैक्रममा अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेल समक्ष आग्रह गरेका छन् । यद्यपि पोखरेलले भने यस विषयमा आफूहरुले पनि सोचिरहेको बताउँदै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन समेत आग्रह गरेका थिए ।