– डा. उत्कर्ष कार्की (बाल तथा वयस्क मनोविद्, कान्ती बाल अस्पताल तथा सिविन नेपाल)


ADVERTISEMENT


तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण अधिकांश व्यक्तिमा तनाव उत्पन्न भएको देखिन्छ । यस्तै, कोरोना लहरकै कारण अधिकांश व्यक्तिले कुनै न कुनै चिनेजानेका साथीभाई वा आफ्नै नजिकका व्यक्तिहरु गुमाइरहेका छन् । जसले अधिकांशलाई मानसिक रुपमा विक्षित बनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तो अवस्थामा कस्ता समस्या देखिन्छन् ?

१. वैचारिक पक्ष अन्तर्गत
बारम्बार एउटै सोच आइरहनु, विगत वा भविष्यका कुराले सताउनु, आफैलाई गलत ठान्नु नकरात्मक सोच्नु र आफन्तका लागि केहि गर्न सकिएन भनेर आफैँलाई दोषी ठहराउनु ।

२.भावनात्मक पक्ष अन्तर्गत
उदास हुनु, दिक्क लाग्नु, अत्याधिक डर लाग्ने, निराश हुनु, छिट्टो रिस उठ्नु अनावश्यक चिन्ता लिनु र डराउनु ।

३. शारीरिक पक्ष अन्तर्गत
मुटुको चाल तेज हुन्, टाउको दुख्ने, भारी हुने, सन्चो नभएको भान हुनु, शरीर आलस्य हुनु, शरीरमा ऊर्जा नहुनु, हातखुट्ट झमझमाउनु वा पोलेको महशुस हुनु र कहिलेकाहीँ बेहोससम्म हुनु । यसबाहेक व्यक्तिको जैविक कार्यप्रणालीको गडबढि हुनु जस्तो भोक वा खान मन नलाग्नु र निन्द्रा नलाग्नु ।

४. व्यवहारिक पक्षः
आत्महानी र आत्महत्याको प्रयास, रुन मन लागनु, एक्लै बस्न मन पराउनु तथा आक्रामक व्यवहार देखनउन थाल्नु । र, बालबालिकाको हकका औला चुस्न थाल्नु वा ओछ्यानमा पिसाब/ दिशा फेर्न थाल्नु ।

तनावबाट छुटकारा पाउने उपायहरु

अंग्रेजीमा एक प्रसिद्व भनाई छ, ‘नर्मल रियाक्शनन टु एबनर्मल सिचुएशन ।’ अर्थात्, कुनै पनि तनावपुर्ण परिस्थितिलाई सकरात्मक सोचबाट परिमार्जित गर्दै आफुलाई उक्त परिस्थितिका कारण पैदा हुने नकरात्मक सोचको विकारबाट जोगाउने प्रयासले पनि तनावलाई धेरै हदसम्म कम गर्न मद्दत पुर्‍याउँछ । तसर्थ यस असहज परिस्थितिसंग जुध्दै गर्दा हामीले के सोच्नुपर्छ भने यो कुनै एक व्यक्तिलाई मात्रै देखा परेको समस्या होइन । जबकी यो सम्पुर्ण विश्वलाई नै परेको समस्या हो । र, यसका लागि हामीले चिन्ताभन्दा चिन्तन गरी उक्त चिन्तनलाई व्यवहारमा उतार्दै यस परिस्थितिबाट छुटकारा पाउनेतर्फ लाग्नुपर्छ भन्ने सकरात्मक सोच लिएर अघि बढ्न सकेमात्रै पनि यस समयमा देखिने तनावबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ । यसबाहेक यस समयमा हामीले तनावबाट छुटकारा पाउनका निम्न उपायहरु अपनाउन सकिन्छः

१. दैनिक कार्यतालिका बनाउने

हाल कोरोना लहरका कारण अधिकांश जिल्लामा आंशिक रुपमा लकडाउन वा निषेधाज्ञा अध्यदेश गरिएको छ । तसर्थ यस समयमा अधिकांश व्यक्तिहरु घरमा नै सिमित रहनुपर्ने भएकाले उनीहरुको दैनिकी नै अनियमित भएको पाइन्छ । जसले पनि व्यक्तिलाई कुनै न कुनै रुपमा डिस्टर्ब गरिरहेको हुन्छ । तसर्थ यस समयमा पनि व्यक्तिले आफ्नौ दैनिकीलाई निरन्तरता दिनका लागि दैनिक रुपमा खाने, आराम गर्ने, काम गर्ने र अन्य गतिविधिका लागि कार्यलातिका बनाई त्यसैलाई अवलम्बन गर्ने प्रयास गर्नुपर्छ ।

२. धेरै मिडियाको पछि नलाग्ने

अहिलेको यस परिस्थितिमा अधिकांश व्यक्तिलाई तनाव दिने कारणमध्ये मिडिया पनि एक प्रमुख माध्यम हो । विभिन्न मृत्यु, शोक र संक्रमणको खबरमात्रै सुनिने भएकाले पनि अहिले मिडिया व्यक्तिको तनावको प्रमुख कारण बनिरहेको छ । तसर्थ हामीले यसका लागि जानकारीका लागि दिनमा १/२ मात्रै विश्वसनीय स्रोतको समाचार हेर्ने वा सुन्ने बानी बसाल्नुपर्छ ।

यस्तै, बालबालिकाको हकमा भन्नुपर्दा, उनीहरुलाई उपयुक्त तरीकाले समाचार सुन्न वा हेर्न दिने र बुझाउने प्रयास गर्नुपर्छ । यसैगरी, २ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई ग्याजेट-टिभी, मोबाइल, ल्यापटप तथा आइप्याड_ देखाउँदै नदेखाउने र २ देखि ६ वर्ष समूहलाई दैनिक १ घण्टाभन्दा बढि यस्ता ग्याजेटको प्रयोग गर्न नदिने । अन्यथा, यसले उनीहरुको विकासमा नकरात्मक असर पार्दछ ।

३. चिन्ताभन्दा चिन्तन गर्ने बानी बसाल्ने

यो समय भनेको चिन्ताभन्दा पनि चिन्तन गर्ने समय हो । बाहिरी दुनियामा घटेका विभिन्न घटनाका विषयमा बढि सोचेर आफूलाई तनाव दिनुभन्दा यस परिस्थितिबाट बच्न आफुले के गर्न सकिन्छ ? र के गर्नुपर्छ ? भन्ने विषयमा चिन्तन गर्नु उपयुक्त रहन्छ ।

४. योगा वा व्यायाम तथा गर्ने

अधिकांश व्यक्तिहरु घरमा बस्दा बस्दै अल्छि भएका हुन्छन् । एकै ठाउँमा मात्रै बसेर समय व्यतीत गरिरहदा उनीहरुको दिमागमा अनेकौं नकरात्मक सोचहरु आउने सम्भावना पनि उच्च रहन्छ । तसर्थ व्यक्तिले आफूलाई मानसिक रुपमा चुसत राख्न शारीरिक रुपमा सक्रिय रहन पनि उत्तिकै आवश्यक रहन्छ । यसका लागि व्यक्तिले आफ्नो घरभित्र नै शारीरिक व्यायाम गर्ने, योगा गर्ने र इन्टरनेटको माध्यमबाट विभिन्न किसिमका तनावबाट छुटकारा पाउने ‘रिल्याक्शेसन व्यायाम’ समेत गर्न सकिन्छ ।

५. उचित पौष्टिक आहारको सेवन

उचित खानपिनको सेवन शारीरिक साथसाथै मानसिक स्वास्थ्यको निम्ति पनि अत्यावश्यक पक्ष हो । यसका लागि व्यक्तिले सफा, ताजा र स्वस्थवद्र्वक खानपिन शैलीलाई फलो गर्नुपर्छ ।

६. पानी प्रशस्त पिउने

विभिन्न अध्ययन अनुसन्धानले पनि के देखाएको छ भने, पानीको उचित सेवन गर्ने व्यक्तिलाई एन्जाइटी र डिप्रेशनको जोखिम अन्य व्यक्तिको तुलनामा कम रहन्छ । यसका लागि पनि हामीले आफ्नो शरीरलाई आवश्यक पर्ने पानीको सेवन गर्नुपर्छ ।

७. धुम्रपान र मद्यपान सेवनबाट टाढै रहने

हामीले के बुझ्नुपर्छ भने, मद्यपान एवम् धुम्रपान पदार्थ सेवन हाम्रो निम्ति जुनसुकै समयका लागि पनि घातक रहन्छ । यो व्यक्तिको शारीरिक रुपमा मात्रै नभई पारिवारि एवम् सामाजिक रुपमा पनि वितृष्णा पैदा गर्ने पदार्थ हो । तसर्थ यसको सेवनले व्यक्ति स्वयम्लाई मात्र नभई परिवारको अन्य सदस्यमा समेत थप तनावको स्थिति पैदा गर्छ । त्यसैले यसलाई टाढै रहनुपर्छ ।

८. आफ्ना साथीभाई एवम् आफन्तसंग सम्पर्क गर्ने

हामीले हाल चलिरहेको यस समयको फाइदा लिन सक्ने विभिन्न उपायमध्ये आफ्ना आफन्त वा साथीभाई संग सम्पर्कमा रहनु पनि एक हो । दैनिक व्यस्त जीवनशैलीबाट व्यक्तिगतका निम्ति समेत समय निकाल्न नसक्ने भएकाले अहिलेको समय भनेको आफ्नो नजिकका साथीभाई एवम् आफन्तसंग सम्पर्कमा रहने उपयुक्त समय पनि हो । तसर्थ यसका लागि शारीरिक रुपमा नै नभई सामाजिक सञ्जालमार्फत उनीहरुसंग सम्पर्कमा रही विभिन्न रमाइला पक्षमा गफिदैँ आफैलाई मनोरञ्जन प्रदान पनि गर्न सकिनछ ।

९. सिर्जनात्मक कार्यमा समय व्यतीत गर्ने

आफुले चाहेको र आफुलाई मन लागेको विभिन्न सिर्जनात्मक एवम् रचनात्मक कार्यमा आफ्नो समय खर्चिने उचित समय भनेको यहि नै हो । तसर्थ यस समयमा हामीले कथा कविता लेख्ने, चित्र बनाउने, बोटबिरुवा रोप्नेजस्ता गतिविधिबाट पनि आफ्नो समयको सदूपयोग गर्न सक्छौ ।

यसबाहेक हामी सम्पुर्णले के बुझ्नुपर्छ भने जस्तोसुकै समय पनि बितेर जानेछ । त्यस्तै यस असहज परिस्थिती पनि एकदिन अवश्य बितेर जान्छ । यद्यपि यसका लागि भने तपाई हामी सबैको कसरत आवश्यक पर्छ । र, त्यो कसरत भनेकै घरमै बसी स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्नु हो । यस्तै अत्यावश्यक कार्यबाहेक घरबाहिर ननिस्कौँ र निस्कनै पर्ने अवस्था आएमा मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने, भिडभाड नगर्ने र त्यसबाट टाढै रहने तथा पटक–पटक साबुनपानीले हात धुनुपर्छ ।

यति गर्दागर्दै पनि उग्र डर एवम् चिन्ताले यस समयमा केहि व्यक्तिमा भने तनावले गहिरो प्रभाव पार्नसक्छ । तसर्थ त्यस्तो अवस्थामा भने व्यक्तिले अनलाइन मनोविद् सेवा पनि लिन सकिन्छ । यसका लागि मनोवैज्ञानिक सेवाअन्र्तगत वयस्कका लागि त्रिवि शिक्षण अस्पतालको ९८४९९२५९६३ सम्पर्क नम्बर र बालबालिका तथा किशोरकिशोरीको हकमा भने कान्ति बाल अस्पतालको टोल फ्री नम्बर १६६००११०६६६ वा मोबाइल नम्बर ९८०८५२२४१० र बाल हेल्पलाइनको १०९८ नम्बरमा सम्पर्क गरी परामर्श लिन सकिन्छ ।

प्रस्तुती : सृजना मगर