काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि आज कुरा गर्दै उनले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्म देखिने परिणाम निकालिने बताए । भुसालले प्राधिकरणमा भइरहेका कामलाई दु्रत गतिमा अगाडि बढाउने बताउँदै भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना रहेको सुनाए ।


ADVERTISEMENT

# # #


“राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ”, उनले भने ।

यसअघि अर्थसचिवबाट सेवानिवृत्त भुसालले विभिन्न मन्त्रालयमा अनुभव सँगालेका छन् । अर्थसचिवबाट सेवानिवृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक नियुक्त भए । विसं २०३७ मा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसालले २०४३ सालमा सहायक सचिव हुँदै २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरे ।

विसं २०५४ मा सहसचिव भएपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एक वर्ष, अर्थ मन्त्रालको बजेट महाशाखामा चार वर्ष र परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाली महावाणिज्य दूतावास कोलकातामा तीन वर्ष महावाणिज्यदूत भई काम गरेको अनुभव उनीसँग छ ।

विसं २०६५ मा सचिव बनेका भुसालले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनःसंरचना आयोग, वन तथा भूसंरक्षण र अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा काम गरे। भुसाल विशेषगरी वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रीकरण, लैंगिक समानता, विकास योजना र गरिबी निवारणको क्षेत्रमा विशेष दख्खल राख्छन् ।

उनी सदस्यसचिव हुँदा प्रशासन पुनःसंरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक बनेको छ । अर्थशास्त्रमा पनि राम्रो दख्खल राख्ने भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए ।