मकवानपुर– नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वर्धनतथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएको छ ।


ADVERTISEMENT


आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले सङ्घीय सरकारले जनताको शान्तिसुरक्षाका लागि सातै प्रदेशमा उच्च सतर्कताको साथ सुरक्षा निकायलाई परिचालन गरिरहेको र प्रदेश सरकारले पनि आफ्नो स्रोत साधन परिचालन गरी कोभिड–१९ को सङ्क्रमित बिरामीलाई उपचार सेवा पुर्‍याउनेतर्फ एकमात्र लक्ष्य राख्नुपर्ने उल्लेख गरे ।

यसैगरी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत पार्टीका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले भने, देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् । उनले प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको वृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारीको खाँचो औँल्याए ।

यस्तै, अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको जानकारी दिएका छन् । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उहाँले दृढता व्यक्त गरे । रासस