जुम्ला– जिल्लाको साना जलविद्युत प्लान्टको पुनस्थापना कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


प्राकृतिक विपदुका कारण क्षतिग्रस्त रहेको सो प्लान्ट भारत सरकारको आर्थिक सहयोगपछि पुनस्थापना कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


पुनःनिर्माणको कार्य सकिएसंगै आज भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) श्री करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरण, जुम्लाद्वारा भर्चुअल माध्यममार्फत प्लान्टको उद्घाटन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

सो प्लान्ट ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको रु. २ करोड ६३ लाख लागतको सहयोगमा पुनः निर्माण गरिएको जनाइएको छ । यस्तै, प्लान्टको पुनः निर्माणसंगै नगरपालिकाका करिब २० हजार व्यक्तिहरु लाभान्वित हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणद्वारा सन् १९८३ मा निर्माण गरिएको उक्त जलविद्युत् प्लान्टको विद्युत् उत्पादन क्षमता २०० किलोवाट रहेको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारतले हालसम्ममा नेपालका ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् ।

यस्तै, भारतकै आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्, भने यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नेपाल–भारत दुवै राष्ट्रले यस परियोजनामार्फत प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्ने विश्वास  लिएको छ ।