विमलबहादुर विष्ट, डोटी– जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारको तयारी प्रभावकारीरूपमा तयारी हुन नसक्दा अन्योलता सिर्जना भएको छ । भारतबाट फर्किएका ६८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको ज्यान गइसकेको छ । जिल्लामा दैनिकरूपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भए पनि यहाँका स्थानीय तहले कोरोना नियन्त्रण तथा रोकथामका लागि खासै पहल नचालेका कारण समस्या उत्पन्न भएको स्थानीयवासीको आरोप छ ।


ADVERTISEMENT


दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनसमेत निर्माण गरेका छैनन् । क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधैँ गाउँ जाने तथा समुदायमा घुलमिल हुने गरेका कारण कोरोना सङ्क्रमणदर फैलिँदै गएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी सुरज विक बताउँछन् । उनी भन्छन्, ‘कोरोना नियन्त्रण तथा रोकथामका लागि यहाँका स्थानीय तहले यो वर्ष खासै चासो देखाएनन्, जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, जसले गर्दा महामारीको रुप लिन सक्छ ।’


ADVERTISEMENT

# # #


दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रने क्रम बढिरहेको भए पनि जिल्ला बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको अर्का स्थानीयवासी मोहन पनेरुले बताए । उनले भने, ‘जिल्ला बाहिर तथा विदेशी मुलुकबाट कति जना आए सो विषयमा अहिलेसम्म कसैले पनि रेकर्ड राखेका छैनन्, उनीहरूको अवस्था के छ?, कहाँ बसेका छन् ? रेकर्ड नहुँदा झनै गाहृो भएको छ ।’ जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका कारण यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको स्थानीयवासी बताउँछन् ।

‘भारतबाट आएकालाई केही दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै गाली गर्छन्, हामीले त नसक्ने भयौँ, सरकारीस्तरबाट कुनै प्रयास देखिएन’, दिपायल सिलगढी नगरपालिका–१ तीखागाउँका स्थानीयवासी देवेन्द्र खड्काले भने, ‘भारतबाट आएका नागरिक गाउँगाउँ डुल्दैछन्, हामीले भन्दा मान्दैनन्, उनीहरूलाई कसले होम क्वारेन्टिनमा राख्ने यही समस्याले पिरोलेको छ ।’

उता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न लगाउन सबै स्थानीय तहलाई आग्रह गरिएको बताए । उनी भन्छन्, ‘लकडाउन नै कोरोना समस्याको समाधान होइन, सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेका छौँ, अटेर गर्नेलाई कानूनी कारवाही हुनेछ ।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा डोटी जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनाको अवधिमा करिब रु. १२ करोड खर्च गरेका थिए । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेसनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् । रासस