नागपुर– ‘मैले आफ्नो जीवनकालका ८५ वर्ष पार गरिसकेँ । मैले आफ्नो जिन्दगी बाँचिसकेँ । यी महिलाका श्रीमान् किशोरै छन्, त्यसैले मेरो बेड यिनैलाई दिनू।’ मानव धर्म र सेवा गर्न पाउँदाको आनन्दताको ज्वलन्त उदाहरण बोकेको यो भनाई भारतको महाराष्ट्रको नागापुरको एक वृद्ध नारायण भाउराव दाभाडकरको हो ।


ADVERTISEMENT


अस्पतालमा अक्सिजन तथा बेडको व्याप्त अभावबिच बेड पाएर पनि यति भनेर आफूले पाएको बेड ४० वर्षीय युवाका लागि छोडेर घर फर्केका उनले ३ दिनमा आफ्नो प्राण छोडे । दाभाडकरमा केही दिनअघि मात्रै कोरोना पुष्टि भएको थियो । अक्सिजनको मात्रा ६० सम्म पुगेका कारण उनका छोरी ज्वाइँ मिलेर उनलाई इन्दिरा गान्धी शासकीय अस्पताल पुर्‍याएका थिए । देशभर अभाव खेपिरहेको कारण धेरै संघर्षपछि उनले पनि त्यहाँ बल्ल बल्ल बेड पाएका थिए ।


ADVERTISEMENT

# # #


उनको उपचार चलिरहेको अवस्थामै एक महिलाले आफ्नो श्रीमानलाई ल्याइन् । यद्दपी, अस्पतालमा बेडको अभावका कारण अस्पतालले उनलाई भर्ना गर्न इन्कार गरेको थियो । आफूभन्दा आधा उमेरका व्यक्ति अस्पतालमा बेडका लागि भौतारिई रहेको देखेपछि वृद्ध दाभाडकरले अस्पतालसँग आफ्नो बेड ती युवालाई दिन आग्रह गरे ।

बुढ्यौलीले थाकेको शरीर अझ त्यसमाथि पनि कोरोनाले गलाएको शारीरिक अवस्थाका बाबजुद पनि उनको यो आग्रह देखेर भावुक भएका अस्पताल प्रशासनले उनलाई एक कागजमा ‘म आफ्नो बेड अर्को बिरामीको लागि छोड्दैछु,’ लेख्न लगाए । स्वीकृती पत्र भरेर घर फर्केका उनको ३ दिनपछि घरमै मृत्यु भयो । पीडाले छट्पटिए पनि मानवताले छताछुल्ल भएका उनको यस उदारताको विश्वभर प्रशंसा भइरहेको छ ।

भारतमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ६० हजारभन्दा बढीले कोरोनाका नयाँ संक्रमण देखा परेका छन् । अधिकांश अस्पतालको अवस्था खस्कदो छ । अस्पतालमा बेड, औषधि तथा अक्सिजनलगायतका उपचारका उपकरणको अत्यन्तै अभाव हुन थालेको छ । गम्भीर अवस्थाका बिरामीलाई समेत उपचार पाउन मुश्किल परिरहेको अवस्था छ । जसकारण पनि दैनिक हजारौं संख्यामा बिरामीले ज्यान गुमाउनु परेको अवस्था छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका कारण यहाँ ३ हजार २ सय ९३ जनाले ज्यान गुमाएका छन् ।

भास्कर दैनिकबाट