काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजको आज फाइनल खेल हुँदैछ । प्रतियोगिताको उपाधीका लागि घरेलू टोली नेपाल र नेदरल्याण्ड भिड्दैछन् ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको सिरिजमा नेपालसहित नेदरल्याण्ड र मलेसियाले प्रतिस्पर्धा गरेका थिए । डबल राउन्ड रोबिनमा भएको प्रतियोगिताको अंक तालिकाको शीर्ष दुईमा रहँदै नेपाल र नेदरल्याण्ड फाइनल पुगेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालले ४ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ तथा दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । यता नेदरल्याण्ड ४ खेलमा २ जित र १ बराबरी खेल्दै ५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको थियो । उसले मलेसियाविरुद्ध १ जित र १ बराबरी खेलेको थियो ।

समूह चरणमा दुई टोलीले १–१ खेल जितेकाले आजको फाइनल वास्तविक लडाईं हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा नेपाललाई पहिलो पटक घरेलू मैदानमा टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका रहेको छ । यस्तै पहिलो पटक त्रिकोणात्मक सिरिज जित्ने मौका पनि नेपालसँग छ । यसअघि नेपालले सन् २०१९ फेब्रुअरीमा युएईविरुद्ध उसकै घरेलू मैदानमा ३ खेलको द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेको थियो । यस्तै सन् २०१९ जुलाईमा मलेसियालाई उसैको मैदानमा दुई खेलको सिरिजमा क्लिनस्वीप गरेको थियो ।

यद्दपी त्रिकोणात्मक टी–२० सिरिज भने नेपालले अहिलेसम्म जितेको छैन ।

सिरिजमा नेपालको ब्याटिङ निकै राम्रो देखिएको छ । नेपालले पहिले ब्याटिङ गरेका दुई खेलमा २ सय रन पार गरेको छ भने पहिले बलिङ गर्दा पनि सहजै लक्ष्य पूरा गर्ने गरेको छ । खेलअघि प्रतिक्रिया दिँदै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले मलेसियासँगको जितले टोलीमा आत्मविश्वास बढेको बताए ।

उनले त्रिवि क्रिकेट मैदानको पिच ब्याटिङमैत्री भएकाले रन बनाउन चुक्न नहुने बताए । उनले भने, ‘विकेट राम्रो भएकाले ब्याटिङ राम्रो गर्नुपर्छ। अर्कोतर्फ बलिङमा हामी केन्द्रीत हुन जरूरी छ। त्यसका लागि हामी डट बल र बाउन्ड्री कम खानतर्फ केन्द्रीत हुनुपर्छ।’