बाग्मति– वन्यजन्तु संरक्षणका लागि सन्देश प्रवाह गर्न वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानमा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले जनचेतनामूलक अभियान थालेका छन् ।


ADVERTISEMENT


वन्यजन्तु संरक्षणमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको जनाउँदै मानिसमा सकारात्मक सोचको वृद्धि गर्न संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले यस्तो जनचेतनामूलक अभियान थालिएको विद्यार्थी सुजन खतिवडाले बताएका हुन् ।


ADVERTISEMENT

# # #


अभियानअन्तर्गत सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, वन्यजन्तु गणना तालीम, वन्यजन्तुसम्बन्धी जानकारी, फोटो प्रदर्शनी र वन्यजन्तुको खानेपानी मुहान संरक्षणलगायत विविध कार्यक्रम रहेको अर्का विद्यार्थी दीपराज भुसालले जानकारी दिए ।

विद्यार्थीले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले वन्यजन्तु सप्ताह मनाइरहेका छन् । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यार्थीले यस अगावै संस्थानदेखि बुद्धचोकसम्म विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रदर्शन गरिसकेका छन् । विद्यार्थीले आफ्नो अनुहारमा विभिन्न वन्यजन्तुको चित्रसमेत बनाएर सन्देशमूलक कार्यक्रम गरिसकेका छन् । संस्थानमा हाल वन विज्ञान विषयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् । रासस