विशाल हुमागाईं


ADVERTISEMENT


सीईओ, प्रोग्रेसिभ फाइनान्स लि.


ADVERTISEMENT

# # #


प्रोग्रेसिभ फाइनान्स के हो ? कसरी काम गरिराख्नु भएको छ ?

प्रोग्रेसिभ फाइनान्स वित्तीय सेवा दिने एउटा संस्था हो, जुन कम्पनी ऐनअनुसार दर्ता छ । राष्ट्र बैकबाट स्वीकृति लिएर हामीले विविध खालका वित्तीय सेवाहरु प्रदान गरिरहेका छौँ । प्रोग्रेसिभ फाइनान्स के हो भनेर भन्नुपर्दा विशेष गरी यसले पनि ऐन, नियम, कानुन र परिधिभित्र रहेर नवीनतम् प्रविधिमा आधारित वित्तीय सेवा प्रदानका लागि खोलिएको वित्तीय संस्था हो । कानुनी परिधिमा बाँधिएर सबैभन्दा सहज र सुलभ वित्तीय सेवा प्रदान गर्ने संस्थाका रुपमा प्रोग्रेसिभ फाइनान्स स्थापित भएको छ ।

बैंक तथा वित्तीय संस्था विभिन्न प्रकारका छन्, त्योमध्ये ‘ग’ वर्गको प्रोग्रेसिभ फाइनान्समा कसरी वित्तीय कारोवार भइरहेको हुन्छ ? आम सर्वसाधारणले कसरी सेवा पाइरहेका हुन्छन् ?

मुख्यतः हाम्रो ऐन, कानुन, नियम र राष्ट्र बैंकको निर्देशनलाई हेर्दा ‘क’, ‘ख’ र ‘ग’ भनेर पूँजीको हिसाबले छुट्टाएको मात्र जस्तो देखिन्छ । एउटा मात्र काम फाइनान्स कम्पनीले सोझै एलसी खोल्न पाउँदैन । तर पछिल्लो समय वाणिज्य बैंकसँग सहकार्य गरेर त्यसको काम पनि गर्न सक्छौँ । अर्को स्टक हाइपोथेकेशनमा कर्जा दिन र विदेशी मुद्राका लागि खाता हामीले खोल्न पाउँदैनौँ । यी बाहेक अहिले सबै वित्तीय सेवा सम्बन्धी काम हामीले गर्न पाउँछौँ । यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति, स्रोत, उत्पादन, कर्मचारीलाई तालीम लगायतका काम गरेर हामीले सेवा सञ्चालन गरिरहेका छौँ । ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंकबाट पाइने सेवा प्रोग्रेसिभ फाइनान्सबाट पाउन सकिन्छ ।

फाइनान्स कम्पनीमा आउँदै गर्दा तपाईंहरुको लक्षित समूह कुन हो ?

राष्ट्रिय स्तरको कम्पनी भएकाले हाम्रो त्यही किसिमको पहुँच हामीसँग छ । तर पनि पूँजी लगायतका विषयहरु जस्तो वाणिज्य बैंकको ८ अर्ब, विकास बैङ्कको २ अर्ब ५० करोड र हाम्रो ८० करोडको पूँजी छ । यसले पनि हामीमा केही सीमितताहरु जरुर छन् । अर्को कोषका कारण पनि हाम्रा व्यापारिक क्षेत्र सीमित छन् । जसकारण हाम्रो अहिलेको लक्षित समूह रिटेल क्षेत्र नै हो । कर्पोरेट उद्योगभन्दा पनि रिटेल, एस.एम.ई र निम्न आय भएका विविध क्षेत्रका सेवाग्राही नै अहिलेको हाम्रो लक्षित समूह हो ।

प्रोग्रेसिभ फाइनान्स लि. यहाँसम्म आइपुग्दा के के काम भए र आगामी योजना के छन् ?

प्रोग्रेसिभ फाइनान्स लि.ले २०५१ मा दर्ता भयो र त्यसको एक वर्षपछि कारोवार शुरु गर्यो । हामी २५ औँ वर्षमा पुगेका छौँ । २५ वर्षको कारोवारको दौरानमा यसले गति लिन थालेको २०७२ को भूकम्पपछि हो । त्योभन्दा अगाडि यो निष्क्रिय रुपमै थियो भन्दा पनि हुन्छ । भूकम्पपछि हामीले बनेपामा शाखा विस्तार पनि गर्यौँ । त्यसपछि यसले आफ्नो लक्ष्य र दृष्टिकोण निर्माण गर्यो । त्यसयता कारोवार, सेवाग्राही, सेवा लगायतको दायरा बढ्दै गएको छ । ब्रान्च विस्तार भयो, राष्ट्रबैंकले २० करोड पूँजी हुनुपर्ने तोकेकामा उक्त दायरा पनि पुग्यो, हामीलाई पूँजी नपुगेर पीसीए लागेकोमा त्यो पनि हट्यो र त्यसपछि कारोवार बढ्यो । एक वर्षमा हामीले कारोबारमा सतप्रतिशत विस्तार गरेर ६० करोडसम्म ऋण र त्योभन्दा बढी बचत पुर्‍यायौँ । त्यसपछि फेरि ८० करोड पूँजी हुने प्रावधान आएपछि यसले २ वर्षसम्म प्रभाव पर्यो ।

मर्जरमा जाने वा के गर्ने भन्ने बारे पनि छलफल हुन थाल्यो । पछि ऋणसँग सम्बन्धित निर्णय वोर्डबाट पनि गर्न नसकेपछि ४० करोडमा झर्यो । त्यसपछि २०७४ को समाप्तिपछि अध्यक्षका रुपमा किशोर महर्जन आउनुभएपछि हामीले दश वर्ष अघिदेखि परिवर्तन नभएका नीतिलाई परिमार्जन गर्यौँ, नयाँ र आधुनिक प्रविधिको प्रयोग गर्यौँ र विस्तारै यसले फेरि गति लिन थाल्यो । वित्तीय संस्था नीतिका कारण धेरै प्रभावित हुने भएकाले मैले एक वर्षसम्म त २० देखि ३० वटा नीति बनाएँ र वोर्डमा लगेँ । कर्मचारीहरुलाई तालीम गरायौँ । त्यसपछि पोखरा र तराईँमा तीनवटा शाखाहरू स्थापना गर्यौँ । त्यसको डेढ वर्षमा पूँजी ८० करोड पुर्याउँदा बचत र ऋण ७० करोड पुगेको थियो । त्यसको ६ महीनामा १८० करोड ऋण र १८८ करोड बचत गर्न सफल भयौँ । त्यसपछि राम्रो विकास हुँदै गएकोमा कोभिडले केही प्रभावित गर्यो ।

साउनपछि हेटौँडा, ईटहरी र नारायणघाटमा शाखा विस्तार गर्यौँ, जसले केही सुधार भयो । यो वर्ष हाम्रो ३४० करोडको वचत र ३२० करोडको ऋणको लक्ष्य रहेको छ । आजको दिनसम्म आइपुग्दा २७० करोड वचत पुगेको छ, ऋणमा भने केही चुनौती छ यद्यपि, हालसम्म २३५ करोड ऋण हामीले पुर्याइसकेका छौँ । म यहाँ आएको ६ वर्ष भएपनि मैले राम्रोसँग २ वर्ष मात्र काम गर्न पाएँ भने बाँकी रहेको २ वर्षमा उत्कृष्ट ५ फाइनान्सभित्र यस कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको छ ।

शाखा विस्तारको योजना के छ ?

अहिले १० वटा शाखाहरू रहेकोमा ४ शाखाहरू खुल्ने क्रममा छन् । असारसम्म जम्मा १४ वटा शाखाहरू र ६ वटा विस्तारित काउन्टर गरी जम्मा २० वटा आउटलेट हुन्छन् ।

उत्कृष्ट ५ फाइनान्समा प्रोग्रेसिभलाई पुर्याउने लक्ष्य लिनुभएको छ, यसका लागि समर्थनको समूहको अवस्था के छ ?

वोर्डको कुरा गर्नुपर्दा एकदमै उत्कृष्ट समूह छ । किशोर सर आफैमा अनुभवी बैंकर्स हुनुहुन्छ । उहाँलाई कसरी संस्था व्यवस्थापना गर्ने र व्यवस्थापनलाई समर्थन गर्ने भन्ने राम्रो ज्ञान छ, जसकारण गर्वसाथ भन्नुपर्दा मलाई जति सजीलो बैंकिङ क्षेत्रमा अरु कुनै सीईओलाई नहुन सक्छ । यसैगरी उच्च व्यवस्थापन टिममा उत्कृष्ट व्यवस्थापन टिम हामीसँग छ । जसकारण मेरो भिजन र मिसनलाई साथ दिने टिम मसँग छ ।

अन्तिममा के भन्नुहुन्छ ?

म सामुहिकतामा विश्वास गर्छु । एक्लैले सबै कुरा गर्न सम्भव हुँदैन, सबैको साथ चाहिन्छ । समान विचार, समान उध्देश्य र अनुभवी ब्यवस्थापनबाट मलाई पुर्ण साथ तथा सहयोगका कारण यसलाई उत्कृष्ट वित्तिय संस्थाका रुपमा स्थापित गर्नेछौँ । तर अझैँपनि केही समस्याहरु छन्, कोरोनापछिको जोखिम छ । तथापि, यसलाई एउटा ब्रान्ड बनाउने गरी हामीले काम गरिरहेका छौँ ।