काठमाडौँ– दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT


नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।


ADVERTISEMENT

# # #


देउवा ट्रम्प दोहारी

सिस्नोपानीको देउसीमा नक्कली शेरबहादुर देउवा र डोनाल्ड ट्रम्पको देउसी निकै रोचक देखियो ।

कार्यक्रम लगभग अन्तिम चरणमा पुग्नै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएको घोषणा उद्घोषकले गरे । लगत्तै देउवा हात हल्लाउँदै आफ्नो दलबलसहित हलभित्र छिरे ।

उनी दर्शकदीर्घाको अघिल्लो पंक्तिमा रहेका प्रचण्डसँग हात मिलाउन पुगे र भने, ‘तपाईंको अनुहार त मलाई हेर्न पनि मन छैन ।’ त्यसपछि ओलीसँग हात मिलाएर पनि उनले यसै भने । अनि पो थाहा भयो- यी देउवा त नक्कली पो रहेछन् ।

देउवाको अवतारमा प्रस्तुत भएका थिए हाँस्यकलाकार धुर्मुस । उनको आवाज मात्र होइन, हिँडाइँ र हाउभाउ पनि देउवाकै जस्तो थियो ।

‘घरमा बस्यो देउसी खेल्न आउनेको जुलुस छ, पार्टी कार्यालयमा गयो प्रदेश र संसदीय टिकटमाग्दै देउसी खेल्नेको जुलुस छ । दिनको १० हजार मान्छे परदेश जाँदा पनि कति प्रदेशको टिकट दिने भन्या ?’

‘सिंहदबारमा आयो मन्त्रीको टिकटको देउसी खेल्न आउँछन् । ६४ जना त पुर्‍याइसकें त बाबा, १-२ जना विनाविभागीय त यतै देखिरहेको छु ।’

त्यसपछि नक्कली देउवाले भैलो खेल्न सुरु गरे

‘कार्यकर्ता आउलान् आँगन, सांसदको टिकट मागन
हे औंशी ब्यारो, बाम एकता भयो साह्रै गाह्रो’

यत्तिकैमा मञ्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रवेश हुन्छ । गत गाईजात्रामा प्रस्तुत गरेको क्यारेक्टर दोहोर्‍याउँदै मनोज गजुरेल ट्रम्पको भेषमा प्रस्तुत हुन्छन् ।

‘नो नो नो हि इज फेक
आइ हेट फेक पिपल’ भन्दै उनी हलभित्र छिर्दा हाँसो गुञ्जिन्छ ।

उनले मिस्टर फेक भन्दै देउवालाई सम्वोधन गरेपछि देउवा नराम्ररी जंगिन्छन् । उनी निकै समय भुत्भुताउँछन् । बीबीसीको कार्यक्रममा बोलेको शैलीमा भन्छन्, ‘तपाईं बढ्दा बोल्दै हुनुहुन्छ ।’

त्यसपछि ट्रम्पले ६४ जना मन्त्री बनाएकोमा देउवाको धज्जी उडाउँछन् । उनले भन्छन्, ‘यो ६४ जनालाई मन्त्री बनाएर पैसा खुवाउनेभन्दा तिनीहरुलाई जम्मा पारेर तराईको सीमानामा वाल लाउन पठाउनुस ।’

त्यसपछि देउवा र ट्रम्पबीच दोहोरी देउसी सुरु हुन्छ-

‘डोनाल्ड ट्रम्प आए आँगन नेपाली युवा मागन
डीभी चिठ्ठा साह्रो, नेपाल रित्तो पारो’ देउवा गाउँछन् ।

त्यसमा ट्रम्प जवाफ दिन्छन्-

माया मार्ने गामबेसी, किन धाउने एम्बेसी ?
हे औंसी ब्यारो गाई तेरो गोरु मेरो थैलो

देउवा भन्छन्-

‘हे साम्राज्यवाद ढल्दैछ, सोसलिज्म आउँदैछ
हे औंसी ब्यारो बामएकता भयो तिमीलाई गाह्रो’

ट्रम्प जवाफ दिन्छन्-

‘कोही सोसलिज्म भन्छ कोही कम्युनिज्म भन्छ
तर नेपाल वान्ली वान टुरिज्मले मात्र बन्छ’

ट्रम्पले नेपालका प्रधानमन्त्री छिमेकी देशमा गएर संविधान संशोधन गर्न नसकेको भनेर घुँडा टेकेकोमा कटाक्ष गर्छन् ।

‘नेपालको प्रधानमन्त्रीले आफ्नो जनतासँग बसेर कुरा मिलाउने कि छिमेकीकहाँ गएर आइ एम सरी भन्ने ?’ ट्रम्प भन्छन् ।

देउवाले उत्तर कोरियाले क्षेप्यास्त्र हानिदेला भनेर तर्साउँछन् ।

भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी- २०७४

भन भन भाइ हो – देउसिरे
भन भन बैनी हो – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
भ्रष्टाचारको – केसैमा
अख्तियार भन्ने – राज्य थ्यो
लोकमान भन्ने – राजा थे
नकुरा गरौं – कस्ता थे
जंगबहादुर – जस्ता थे
शिकार खेल्थे – हेरेर
लुतेलाई लडाउँथे – बेरेर
अहिले त अख्तियार – खै कुन्नी
बन्दुकै पड्के नि – नसुन्नी

प्रमुखकै नाम थाहा – पा छैन
बस्नेत कि उठ्नेत – थाहा छैन
नाता र गोताले – सताए
साला र ज्वाइँंले – बिताए

भ्रष्टाचार फक्र्यो – फक्रिनु
सम्धीलाई कसरी – पक्रिनु
अन्यौलमा हो कि – परेका
दायित्वबाट – झरेका

हामी त्यसै आएनौं गोपाल सरले खटाए
तेल भण्डारण गर्ने जमिन खोज्न पठाए ।

दुई लाख पर्ने जमिनलाई २० लाख खन खन गन्या छन्
गोपाल सरलाई गोपाल सरले स्याबास भन्या छन् ।

अर्का गोपाल शिक्षामन्त्री डिस्को नाच नाच्दैछन्
उठ्लास भन्दै शिक्षाकै ढाड भाँच्दैछन् ।

कर आयोग नै मारेर शर्मा महत कमाउँछन्
कसले छुने ठाउँठाउँमा थैली चढाउँछन् ।

समाजवादी बाटोमा देउवा ईंटा थप्दैछन्
खुमबहादुर टिकट बाँड्छन् गगन थाप्दैछन् ।

देउवाजीले ब्याटिङमा शतक हान्लान् जस्तो छ
मन्त्रिमण्डल बोइलरको बथान जस्तो छ ।

केही मन्त्री आउनुभो, केही मन्त्री जानुभो
सबै मन्त्री अटाउन हलै सानु भो ।

बीबीसीमा देउवाजीले झण्डै जनता पिट्नुभो
पत्रकारले प्रश्न सोध्दा दाह्रा किट्नुभो ।

राहत बाँड्न जानुभो हेलिकप्टर चढ्नुभो
भाषण पढ्न खोज्दा लभ लेटर पढ्नुभो ।

मै हुँ भन्थ्यो दिल्ली पनि अहिले हेर्‍या हेर्‍यै भो
देउवाजीको कालो बोको छेर्‍या छेर्‍यै भो ।

सिस्नुपानी नेपालैका हामी कवि कलाकार नि लै लै
प्रज्ञाको दैलो, खेल्दै देउसी भैलो,
नाच्दै आयौं छमछम ।

काठमाण्डूका खाल्डे सडक सबै सम्म पारेछन् नि लै लै
मेट्रो पनि चलेछ, मोनो रेल नि गुडेछ
चढी आयौं ठमठम ।

भ्रष्टले नि चुनाव लड्ने झण्डै बन्यो नि..यम्
विफल भयो छक्क परे दाजु राधेश्याम ।

सांसद हुन्जेल बिकाश बजेट छाडेपछि पेन्सन
दुईटै गुम्यो हेर्दा हेर्दै भयो टेन्सन ।

प्रधानमन्त्री कुल्चिहाल्छन् माड्छन् आचारसंहिता
आयोग रुन्छ हामी त हेछौर्ं रमिता ।

संबैधानिक आयोग हो कि रुञ्चे लाग्या बालक
अलिकति लाज मान देशका चालक ।

अनुदानको रासन हुम्ला जुम्ला पुग्दा कुहिन्छ
आधा पुग्छ मुखमा आधा अन्तै चुहिन्छ ।

बाटो छैन बत्ती छैन कणर्ालीका पाखामा
फुलो रैछ राजधानीको हेर्ने आँखामा ।

पुनर्निर्माण सीईओ टिकट लेर कुलेलाम
वर्षौंदेखि छाप्रोमै पीडित जिल्लाराम ।

हाम्रो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको
कदर गर्न राज्यले खोइ त जानेको ?

श्रमिक सधैं सकसमा कति आउँछन् बाकसमा
रोजगार जुटाउँ आफ्नै धर्ती आफ्नै आकाशमा ।

चुनाव आउँदा मधेसी, बाढी आउँदा परदेशी
काठमाडौंमै भुनभुन गर्छन् मन्त्री पाएसी ।

बिहान फोरम, दिउँसो कांग्रेस, साँझ हुन्छन् एमाले
मधेस कैले बन्छ ठाकुर यस्तो पाराले ।

मधेसको मुहार फेर्न देखाउ केही गरेर
हुन्न भलाइ दिल्लीको शरण परेर ।

भन भन साथी – मधेसमा
जंगली हात्ती – मधेसमा
डुवान र बाढी – मधेसमा
फोहोरका खाडी – मधेसमा
छुवाछुतले हान्छ – मधेसमा
डेंगुले लान्छ – मधेसमा
शीतलहर चल्छ – मधेसमा
तातोले पोल्छ – मधेसमा
भ्रष्ट र तस्कर – मधेसमा
सर्प र मच्छड – मधेसमा
बन्दुक र भाला – मधेसमा
विकाशमा ताला – मधेसमा
दाइजोको दलदल – मधेसमा
बोक्सीको खलबल – मधेसमा
दशगजा सर्छ – मधेसमा
गोविन्द मर्छ – मधेसमा
देवनारायण थुनिन्छ – मधेसमा
भोकमरी सुनिन्छ – मधेसमा
खानकै दरकार – मधेसमा
खोई कहाँ छ सरकार – मधेसमा

भरतपुरका कांग्रेस दाजै भोट कता हाल्या थ्यौ नि राजै
जिताउने एउटाले, बिताउने अर्कैले
तुमको ऐले कैसा लगता है…।

गठबन्धन तोडी गयौ, मलाई एक्लै छोडी गयौ नि लै लै
कि लाउ माया मैतिर, कि लाउ माया उहीतिर
क्याविनेट से क्यूँ नही हट्ता है… ।

बेलाबेलै खप्की खान्छन् प्याच्चपुच्च बोलीले
दुई नम्बरमा झण्डै चिम्टा बोके ओलीले ।

गुण्डा डनले टिकट पाए एमालेमा पसेर
चरी-घैंटे रुँदा हुन् माथि बसेर ।

इन्काउण्टरमा परेर तिनीहरु मरिगए
इन्काउन्टरमा नपर्नेचैं मन्त्री हुनेभए ।

दीपक मनाङेलाई आउँदो गृहमन्त्री बनाइदेउ
नवराज सिलवाललाई गृह राज्य देउ ।

केपी ओली प्रचण्ड मिले भन्छन् रातारात
हिजोसम्म काटाकाट आज चाटाचाट ।

खोक्रो थियो राष्ट्रवाद भरिलो भो पुटुक्कै
छिनको छिनमै लम्पसारबाद उठ्यो जुरुक्कै ।

माओवादी सिंगै एकनाथ चुरे भावर एमाले
पासवान गुप्ता त्रिपाठी माले मसाले ।

आलु केरा पिँडालुमा नुनखुर्सानी खन्याए
नयाँ नेपाल कम्युनिष्ट पार्टी सलाद बनाए ।

एमाले र माओवादीको लगनगाँठो बरी लै
दुई दिनको रामछायाँ कि जुनी भरिलाई ?

तिमी आफैं मिल्यौ कि मिलाउने ले मिलायो ?
दुईटा मिल्दा कांग्रेसको आङ् किन चिलायो ?

गर्मी हुँदा रुखतिर जाडो हुँदा घामतिर
छलाङ मार्दै प्रचण्ड पुग्लान धामतिर ।

बाबुरामको नयाँ पसल वर्ष दिनमै टाट भो
नयाँ शक्ति पार्टी नै घार न घाट भो ।

काठमाडौंमै सिंगापुर – देखियो
फोहोरले फ्लाइओभर – छेकियो
मोनोरेल मनमनै – चढियो
चिप्लेर झण्डै – लडियो
सुरुङमार्गबाट – छिरेर
द्रुतमार्ग हुँदै – फिरेर
मेलम्ची पानी – चाखियो
निजगढमा बोइङ – राखियो
चीनबाट चुच्चे – रेल आयो
पाइपलाइनबाट – तेल आयो
बाहिरी रिङरोडमा – फिलीली
बसपार्कको टावर – फिलीली
कान्छीको हात – समाउँदै
साततले बाटोमा – घुमाउँदै
स्मार्ट सिटीको – घरैमा
नेभिटेकरको – भरैमा
भान्सामै ग्यास आउँछ – भनेर
नेताका कुरा – सुनेर
सस्तैमा बेचियो – सिलिण्डर
झल्याँस्स ब्यूझेँ – गाडीमा
भाडा पो माग्छ – किलिण्डर
महानगर एक्सप्रेसको – किलिण्डर ।।

हाम्रो देशका कर्मचारी युनियनका अधिकारी नि लै लै
आफ्नो जागीर खाउ भन्दा, थानीयमा जाउ भन्दा
सरकारलाई नै ढाल्न कसिन्छन् ।

हाम्रो देशका अस्थायी शिक्षक जाँचै नदिई थायी माग्छन् नि लै लै
दलको झोला बोकेर, दलकै नारा घोकेर
यिनले कस्तो शिक्षा बक्सिन्छन् ।

तिहारको किनमेल गरौं दरबारमार्ग बजारमा
सत्र सयको जुत्तालाई २४ हजारमा ।

जति भन्छन् त्यति पैसा तिरी फुत्त भाग्नु है
नत्र कुट्लान् ब्यापारीले चुप लाग्नु है ।

बैंकहरु सुरुखुरु ब्याजमात्रै बढाउँछन्
गभर्नरज्यू तपाईंलाई के के चढाउँछन् ?

सरकार किन्ने पार्टी किन्ने टियु किन्ने अन्सारी
अपार्टमेन्टलाई अस्पतालमा गरे नामसारी ।

मेडिकलका माफियाले सरकार उठबस गराउँछन्
कारवाही गर्ने निकायलाई घाँस चराउँछन् ।

फ्रुटी बेच्ने दुगड दाजु रैछौ साह्रै बफादार
झोल किन्ने ग्राहकलाई चोक्टा उपहार ।
विश्वधनी सूचीमा विनोदलेे नाम टल्काए
कर छल्न यता उद्योग टाट पल्टाए ।

उद्योगी र व्यापारीले राज्यमा दाइँ गर्दछन्
नेता उनकै दाना खान आइँ गर्दछन् ।

मोबाइल देनन् मेयरसापलाई मोटर देनन् चढ्नलाई
बाधा गरे विरोधीले अघि बढ्नलाई ।

हावा हाने फुस्स फुस्स एउटै अण्डा पारेनन्
केको विद्या केको सुन्दर माखै मारेनन् ।

काठमाडौंका मेयरसा साहेब जितेपछि कता गायव नि लै लै
एकसयएक सपना जनतालाई देखायौ
आफू भने झ्याप्पै निदायौ ।

महानगर कर्मचारी, नेताजनका छोरा ब्वारी नि लै लै
फाल्न पनि गाह्रो छ, फाल्न झनै साह्रो छ
निर्वाचितलाई पिठ्युँ देखाए ।

जयजयकार/मनोज धुर्मुस

शुभकामनाः
देशबाट जाओस्- भ्रष्टाचार
सबैमा छाओस् – सदाचार
अख्तियारको निन्द्रा- भंग होस्
भ्रष्टलाई थुन्ने – ढंग होस् ।

बराबर बाँड्ने – भान्छे होस्
नेतालाई छुँदा- मान्छे होस्
गुण्डाले गोली – नताकोस्
डनले टिकट – नथापोस्

सडकमा बालक – नबगुन्
ठेक्दारले निर्माणमा – नठगुन्
डाक्टरले किड्नी – नकाटुन्
उम्मेदवारले जनता – नढाँटुन्

रेमिट्यान्सको रेट – बढ्दो होस्
हुण्डीको रजाईं – घट्दो होस्

भाइवरमा बाउआमा – नटाँसियून्
साइवरमा छोराछोरी – नगाँसियून्

बाँदरले मतपत्र – नच्यातून्
चपाएर ब्यालेट – नफ्याँकुन्
हारे नि जित्ने – दाउ हुन्
रेणुका जस्ता – बाउ हुन्
लोडसेडिङ फर्केर – नआओस्
इन्भर्टरले मौका – नपाओस्
अँध्यारो नेपाल – मूर्दाबाद
जनार्दन कुलमान – जिन्दावाद

युनियनको जालो – उधि्रयोस्
कर्मचारी चाला – सुधि्रयोस्
स्वास्थ्य वीमा – जिन्दाबाद
गिरीराज गगन – धन्यबाद

लालबाबुमा झैं – इमान हुन्
सुशीला जस्ता – श्रीमान हुन्
महको जस्तो – बनोट होस्
धुर्मुसको जस्तो – अठोट होस्

सर्बेन्द्र जस्तो – सिपाही होस्
बाग्मती जस्तो – सफाइ होस्

दिल्लीले निम्तो – नगरोस्
चुनावको मिति – नसरोस्

संविधान पूर्ण – सफल होस्
समृद्धि यात्रा – डबल होस्

बिदाई

बाढी पहिरो भूकम्प महामारी अनिकाल
युगौंदेखि रोएको रोयै छ नेपाल

खोलानाला बन्दकी कष्टपूर्ण जिन्दगी
कैले देख्न पाइन्छ यो देशको समृद्धि ?

कति सोध्नु एउटै प्रश्न कति खेल्नु भैलो
बन्द गर्द्यौ बिन्ती छ देशमा भाँडभैलो

कार्यक्रममा शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व पनि व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए ।

सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए ।