नवलपरासी – नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित छैटौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा आइतबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हाँसिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे ।


ADVERTISEMENT

# # #


प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई उच्च मनोवल र उच्च अनुशासनका साथ कार्यक्षेत्रमा नागरिक सेवालाई सर्वोपरी ठानी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । तालिममा हासिल गरेका ज्ञान, सीप, कौशललाई व्यवहारमा अक्षरस लागू गरी संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उनले जोड दिए ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले स्वागत मन्तव्य व्यक्त गर्दै महाविद्यालयमा संचालन हुने तालिमद्वारा उत्पादित जनशक्तिले देशमा उत्पन्न हुने सशस्त्र विद्रोह लगायत विपद्कोे परिस्थितिमा काम गर्न सक्ने जानकारी दिए ।
समारोहमा तालिम संयोजक प्रहरी उपरीक्षक वीर बहादुर ओलीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी जम्मा १ सय ३८ जनाको सहभागिता रहेको जानकारी दिए ।

उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुक, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको साथै सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

दिक्षान्त समारोह पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मा आयोजित कार्यक्रमबिच सोही कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिए।

निर्देशन सम्बोधन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रद्युम्न कुमार कार्की र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र बहादुर धानुक समेत उपस्थित रहेको थियो ।