शर्मिला पाठक, काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सकेको छैन ।


ADVERTISEMENT


विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी फोहोर फ्याँक्न अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।


ADVERTISEMENT

# # #


सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध गरेका हुन् ।

यस विषयमा काठमाडौँ महानगरपालिकाले छलफल गरिहेको छ । ५१ जना शिक्षकको माग गरिएकामा २० जना शिक्षकको दरबन्दी दिने निर्णय कामपाले गरिसकेको छ । कामपा वातावरण विभागमा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार, फोहोर व्यवस्थापन कार्य सबैको साझा समस्या भएकाले यसमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग आग्रह गरिएको छ ।

यस विषयमा बताउँदै विभागका प्रमुख श्रेष्ठले भने, ‘स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।’ अहिले साइटमा फोहोर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहोरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन कामपाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन । रासस