काठमाडौँ – नेपालले नेदरल्याण्ड र मलेसियासँग त्रिकोणत्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ । नेपाल क्रिकेटसंघ (क्यान)को आयोजनामा नेपालले घरेलू मैदानमै त्रिकोणात्मक सिरिज खेल्ने भएको हो ।


ADVERTISEMENT


त्रिकोणात्मक सिरिजका लागि क्यानको अनुरोधलाई नेदरल्याण्ड र मलेसियाले स्वीकार गरेसँगै सिरिज हुने पक्का भएको हो । उक्त सिरिज काठमाडौँको कर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी अप्रिल १७ देखि २४ सम्म हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा हुनेछ । उत्कृष्ट दुई टिमले फाइनल खेल्नेछन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले छोटो समयमा नै सिरिजका लागि तयारी गरेको भन्दै नेदरल्याण्ड र मलेसियालाई धन्यवाद दिएका छन् । उनले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको घोषणा गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

यस्तै नेदरल्याण्डका मुख्य प्रशिक्षक रायन क्याम्पबेलले नोभेम्बर २०१९ देखि क्रिकेट नखेलिरहेको बेला त्रिकोणत्मक सिरिजको घोषणाले आफूलाई उत्साही तुल्याएको बताएका छन् । उनले नेपालमा नेपाल र मलेसियासँग खेलेर क्रिकेटमा फर्किनु आफैमा चुनौतिपूर्ण रहे पनि त्यसका लागि तयार रहेको बताएका छन् ।

यस्तै मलेसियन क्रिकेट एशोसिएसनका अध्यक्ष महिन्दा वल्लीपुरमले एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किएकोमा खुसी व्यक्त गर्दै त्रिकोणत्मक सिरिजले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनका लागि खेलाडीहरुको मनोबल बढाउन सहयोग गर्ने बताए ।

कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै खेलाडी र म्याच अफिसिएललाई बायोसेक्युअर बबलमा राखिनेछ भने सबैको पीसीआर परीक्षण गरिने सचिव प्याकुरेलले बताएका छन् ।