नवलपरासी– रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


उक्त आयोजनामार्फत रामग्रामलाई रु. ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ । नयाँ बन्ने शहरलाई व्यवस्थित गर्न र दिगो शहरी विकास प्रवर्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिएका हुन् ।

विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो । उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उनले बताए ।

यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ ।

‘नयाँ बन्ने शहर व्यवस्थित होस् र नगरपालिकको आन्तरिक क्षमताको पनि विकास होस् भन्ने उद्देश्यले अनुदान सहयोग प्राप्त हुन लागेको हो, यो सहयोगले नगरको मुहार परिवर्तन गर्छ भन्ने हामीले विश्वास लिएका छौँ’, उनले भने ।

सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो । परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा रु २० करोड भन्दा माथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ । नगरपालिकालाई लुम्बिनीसँग जोडेर सफा, सुन्दर र हराभरा बनाउने अभियानलाई समेत परियोजनाले टेवा पुर्‍याउने बताइएको छ । रासस