काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्माओली प्रतिनिधिसभालाई असफल तुल्याउन लागी परेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता थापाले प्रधानमन्त्री ओलीले संसदलाई असफल साबित गर्न संसदलाई बिजनेस नदिने र एसिड आक्रमणसम्बन्धी विधेयक पास गर्न दिएनन् भनेर कुप्रचार गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘कहिले बैठक छल्न हठात बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद विघटन ।’ उनले भने, ‘अनि अहिले प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपन्च ।’

उनले प्रधानमन्त्रीले बाहिर एसिड आक्रमण गर्नेहरुलाई निन्त्रण गर्ने कानुन बनाउन दिएनन् भनेर हल्ला गरेको तर संसदलाई एउटा विधेयक पनि नदिएको आरोप लगाए । विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाएर प्रधानमन्त्रीले कुप्रचार गरिरहेको उनले बताए ।

उनले अघि थपे, ‘जतिदिन यो सरकार रहन्छ, संसदको अपमान, उपेक्षा र तिरस्कार गर्ने काम बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ उनले आफू आफ्नो ठाउँबाट डटेर संसदको गरिमा जोगाउन लाग्ने बताए ।

उनले प्रधानमन्त्री ओलीले संसद र संसदको लोगो लगाउने सांसदको मात्रै नभई संसद बनाउने जनताको अपमान गरेकाले त्यसको हिसाबकिताब जनताले समयमै दिने उल्लेख गरे । उनले भने, ‘आफ्नो अपमानको बदला जनताले समयमा नै लिनेछन् ।’