जनकपुरधाम – रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली पर्व आउन हप्ता पन्ध्र दिन बाँकी रहँदै गाउँघरमा राति गुञ्जिने परम्परागत होली गीत अचेल लोप हुँदै गइरहेको छ ।


ADVERTISEMENT


वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । पहिले गाउँघरमा होली आएको भन्ने जानकारी फागु गीत गाएर गराइन्थ्यो । यस्ता गीत बन्द भएको लालबन्दी नगरपालिका ७ का उमाशङ्कर साहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘जोगिरा सर..र..र…. कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ, कविलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश राय बताउँछन् । ‘पहिलेपहिले त गाउँका बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो,’ उनले भने ।

समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारतलगायत खाडी मुलुकहरुमा गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुन थालेको सलेमपुरकै ठगा साहले बताए । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै, नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी बताउँछन् । आपसी प्रेम, भाइचारा र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उनको भनाइ छ । पश्चिमा संस्कृतिको प्रवेशसँगै नेपालीका परम्परागत कलासंस्कृति दिन प्रतिदिन लोप हुन थालेका स्थानीयवासी केदार मैनालीले बताउँछन् ।

होलीपर्व आउन करीब दुई साता समय रहेको भए पनि परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । नेपालीको विश्वमा आफ्नै पहिचान भएका कारण नेपालीको संस्कृति परम्परा, मूल्यमान्यताको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा छोटेलाल साहले बताए ।

अहिले स्थानीय सञ्चारमाध्यममा र बजारमा बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि आक्रमण गरेका छन् । आधुनिकताले गर्दा पवुरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ । यसको रौनकता नै समाप्त भएर जान लागेको अग्रज शम्भु घिमिरेले बताए ।

पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ भने दिन प्रतिदिन होलीको परम्परागत विश्वास पनि लोप हुने अवस्थामा पुगेको जनाउँदै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । रासस