महोत्तरी – महोत्तरीको उत्तरवर्ती नगर बर्दिवासमा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । पछिल्लोपटक सोमबार दिउँसै बर्दिवास ६ का प्रेमबहादुर खत्रीको ज ९ प ४३७९ नंको मोटरसाइकल बर्दिवास १ पूर्वचोकस्थित आइएमई कार्यालय अगाडिबाट चोरी भएको हो । चैत महिनामा मात्रै १० भन्दा बढी मोटरसाइकल चोरी भएका छन् ।


ADVERTISEMENT


‘मोटरसाइकल अगाडि राखेर काम विशेषले आइएमई कार्यालय छिरेँ, पाँच मिनटमै फर्कँदा मोटरसाइकल चोरी भइसकेको थियो,’ मोटरसाइकल धनी खत्रीले भने । दैनिकजसो मोटरसाइकल चोरीका वारदातबारे जानकारी आइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।


ADVERTISEMENT

# # #


चैत लाग्दै बर्दिवास ७ का वडाध्यक्ष फाल्गुण सुसलिङले प्रयोग गर्दै आउनुभएको बर्दिवास नगरपालिकाको सरकारी नम्बरप्लेटको मोटरसाइकल बर्दिवास ३ गौरीडाँडाबाट चोरी भएको छ । त्यसैगरी बर्दिवास ९ का मनोजकुमार महतोको मोटरसाइकल पनि गौरीडाँडाबाटै चोरी भएको छ । यसबाहेक बर्दिवास १४ स्थित सेन्ट्रल प्वाइन्ट स्कूल अगाडिबाट बर्दिवास ३ कै रुद्र बोहराको मोटरसाइकल चोरी भएको छ । चैत लागिकन बितेका नौ दिनभित्रै १० भन्दा बढी मोटरसाइकल चोरीका घटना भएका बर्दिवास ७ का वडाध्यक्ष सुसलिङले बताए।

इलाका प्रहरी कार्यालय बर्दिवासले मोटरसाइकल चोरीका घटना बढेको स्वीकार गरेको छ । ‘यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ,’ कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, ‘प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ ।’ प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ ।

प्रहरीकै सक्रियतामा बर्दिवास ३ का रुद्र बोहराको मोटरसाइकल बिपी राजमार्गको खुर्कोटमा भेटिएको छ । मोटरसाइकल चोरेर भागेका चोरले प्रहरीले पिछा गरेको छनक पाएर खुर्कोटमा गाडी छाडेर भागेको प्रहरीले जनाएको हो । बोहराले आफ्नो मोटरसाइकल पाइसकेका छन् । अन्य मोटरसाइकलबारे खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवासमा पछिल्ला केही दिनयता भिखारी र कवाडी सामान उठाउने काममा लागेको देखाउने नौला मानिस निकै थपिएका छन् । प्रहरीले यिनीहरुबारे निगरानी बढाउनुपर्ने बर्दिवासका व्यापारीको सुझाव छ । यसअघि तीन वर्ष पहिले बर्दिवासमा अहिलेजस्तै मोटरसाइकल चोरीको बिगबिगी थियो । त्यतिखेर प्रहरीले सर्लाहीसम्म पुगेर मोटरसाइकल चोर्ने गिरोहको पहिचान गरी कारवाही गरेपछि यस्ता घटना पातलिएका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडा बताउनुहुन्छ । प्रहरीले खोजीकार्य जारी राखेपछि गिरोह पत्ता लाग्ने बर्दिवासवासीको विश्वास छ । रासस